स्पेन, पोर्चुगल र दक्षिणी फ्रान्सका केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध, सार्वजनिक यातायात ठप्प, उडान प्रभावित

स्पेनद्वारा आपतकालको घोषणा
वैशाख १६, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
स्पेन, पोर्चुगल र दक्षिणी फ्रान्सका केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध, सार्वजनिक यातायात ठप्प, उडान प्रभावित

काठमाडौं । स्पेन, पोर्चुगल र दक्षिणपश्चिमी फ्रान्सका केही भागहरूमा व्यापक विद्युत आपूर्ति अवरुद्ध भएको छ । विद्युत आपूर्ति अवरुद्ध हुँदा सार्वजनिक यातायात ठप्प भएको छ । सडकमा ठूलो ट्राफिक जाम भएको छ भने उडानहरू प्रभावित भएका छन् । मानिसहरूले एटीएमबाट नगद निकाल्न पाएका छैनन् ।

विद्युत आपूर्ति गर्ने अपरेटर र अधिकारीहरू विद्युत ग्रिडलाई पुनर्स्थापित गर्न लागि परेको बताइएको छ । यद्यपि विद्युत अवरुद्ध हुनुको कारणबारे अहिल‍ेसम्म केही नखुलेको र अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् ।

पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रो र पोर्चुगाली राष्ट्रिय साइबर सुरक्षा केन्द्र दुवैले साइबर हमलाको कुनै सङ्केत नभएको बताएका छन् ।

स्पेनले सोमबार साँझबाट आपतकालको घोषणा गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत आपूर्ति अवरुद्ध हुनुको कारणबारे कुनै निर्णायक जानकारी नभएको र फ्रान्स र मोरक्कोसँगको अन्तरसम्बन्धबाट आंशिक रूपमा आपूर्ति पुनःस्थापित गरिएको बताउनुभयो । उहाँले चाँडै नै स्पेनको विद्युत आपूर्ति पूर्ण रूपमा पुनःस्थापित हुने अपेक्षा व्यक्त गर्नुभयो ।

विद्युत आपूर्ति अवरुद्ध भएपछि स्पेन र पोर्चुगल दुवै सरकारले तुरुन्तै आपतकालीन मन्त्रिपरिषद् बैठक बोलाएका थिए । स्पेन सरकारले थप ट्राफिक जामबाट बच्न बासिन्दाहरूलाई घरमै बस्न आग्रह गरेको छ । घटनाको कारण पत्ता लगाउन र यसलाई सकेसम्म चाँडो समाधान गर्न सबै सम्भावित स्रोतहरू प्रयोग गरिरहेको बताएइको छ ।