काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रूसी कब्जामा रहेको क्राइमिया रूसलाई सुम्पन युक्रेन तयार रहेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले शान्ति सम्झौताका लागि युक्रेन आफ्नो भूभाग क्राइमिया रूसलाई दिन तयार रहेको बताउनुभएको हो ।
यद्यपि विगतमा किएभले भने क्राइमिया रूसलाई सुम्पने प्रस्ताव अस्वीकार गर्दै आएको थियो । भ्याटिकन सिटीमा युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरी फर्किएपछि ट्रम्पले सो प्रस्तावका लागि युक्रेन तयार रहेको दाबी गर्नुभएको हो । युक्रेनी भूभाग क्राइमिया सन् २०१४ देखि रूसी सेनाको कब्जामा रहेको छ । ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण रोकी युद्धविराम सम्झौता गर्न आग्रह समेत गर्नुभएको छ ।
पुटिन तयार भए दुई सातामा युद्धविराम सम्झौता हुने ट्रम्पको भनाइ छ ।
जेलेन्स्कीसँगको भेटमा क्राइमियाबारे विस्तृतमा छलफल भएको ट्रम्पले बताउनुभयो । ट्रम्पको भनाइबारे युक्रेन र रूस दुवैले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । जर्मनीले भने युद्धविरामको बदलामा आफ्नो भूभागको स्वामित्व रूसलाई सुम्पने किसिमको कुनै पनि सम्झौता नगर्न युक्रेनलाई सचेत गराएको छ ।