मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट : कोशीले नेपाल पुलिस क्लबलाई ३७ रनले हरायो

वैशाख १६, २०८२ |महाप्रसाद खतिवडा
मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट : कोशीले नेपाल पुलिस क्लबलाई ३७ रनले हरायो

मोरङ । कोशी प्रदेशले मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेटमा पहिलो पटक नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । विभागीय टिम आज आफ्नो पहिलो खेलमा नै कोशीसँग ३७ रनले पराजित भएको हो ।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा ९४ रनको सामान्य लक्ष्य पछ्याएको पुलिस २४ दशमलव ५ ओभरमा ५६ रनमा समेटियो । 

पुलिसले टस जितेर बलिङ गरेपछि पहिले ब्याटिङ गरेको कोशीले २९ दशमलव ३ बल खेल्दै ९३ रन बनाउँदा सम्पूर्ण विकेट गुमाएको थियो । कोशीका लागि रुपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराले समान १५-१५ रन बनाए । पुलिसका सुनिल दौल्यानले ५ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दा केवल २५ रन मात्र खर्चिए । विपीन कार्की र चित्र विष्टले समान २-२ विकेट लिए । 

पुलिसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन नस्कदा सामान्य लक्ष्य पनि भेट्टाउन सकेन । माथिल्लो क्रमका रोहन विकले ६, अविनाश कर्णले ९, शंकर रानाले ५, दिपक डुम्रेले १, अमित श्रेष्ठले ९ तथा अरुण ऐरि खाता नखोली आउट भए । ३४ रनमा ६ विकेट गुमाएपछि पुलिस खेलमा फर्कन सकेन । 

कोशीका लागि आज डेब्यु गरेका देब्रे हाते स्पिनर प्रेम कामत एक्लैले ५ विकेट लिए । यसक्रममा उनले ९ ओभरमा ३ मेडन राख्दै १५ रन मात्र खर्चिए । अर्का देब्रे हाते स्पिनर प्रकाश कार्कीले ३ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच कोशी प्रेम कामत घोषित हुँदै ४ हजार रुपैयाँ पाए । 

यो जीतसँगै समूह बी मा रहेको कोशीले महत्वपूर्ण २ अंक हासिल गरेको छ । समूह ए बाट त्रिभुवन आर्मी यसअघि नै फाइनल पुगिसकेको छ । भोलि समूह बी को दोस्रो लिग खेलमा कोशी प्रदेशले भारतको आसाम क्लबको सामना गर्नेछ ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।