काठमाडौं । क्यानडाको भ्यानकुभर शहरमा एउटा एसयूभी कारले सडक महोत्सव मनाइरहेका मानिसहरूलाई जथाभावी कुल्चिँदा थुप्रै मानिसले ज्यान गुमाएको र कैयौं घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । मृतक वा घाइतेको यकिन संख्या भने आइसकेको छैन ।
उक्त कारका ड्राइभरलाई प्रहरीले आफनो नियन्त्रणमा लिइसकेको र अनुसन्धान भइरहेको जनाइएको छ । फिलिपिनो समुदायको "लापु लापु डे" महोत्सव चलिरहँदा स्थानीय समयअनुसार राति ८ बजेपछि उक्त घटना भएको हो । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले उक्त घातक घटनाबाट आफू स्तब्ध र चिन्तित भएको बताउनुभएको छ । विपक्षी कन्जरभेटिभ पार्टी र न्यू डेमोक्रेटिक पार्टीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
क्यानडामा सोमबार संसदीय निर्वाचनका लागि मतदान हुँदैछ । अमेरिकासँग व्यापार युद्धको अवस्था रहेको र राष्ट्रपति डनल्ड ट्रम्पले बारम्बार क्यानडालाई ५१ औं राज्य बनाउने धम्की दिइरहेको पृष्ठभूमिमा हुन गइरहेको यो निर्वाचनलाई अत्यन्त महत्त्वका साथ हेरिएको छ ।
तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री पद सम्हालेको नौ दिनपछि नै कार्नीले समय अगावै निर्वाचनको घोषणा गर्नुभएको थियो । ट्रम्पद्वारा सिर्जित खतराको सामना गर्न आफूलाई बलियो जनसमर्थन चाहिएको भन्दै कार्नीले समयअगावै निर्वाचनमा जान चाहेको बताउनुभएको थियो । कार्नीको लिबरल पार्टी संसद्को सबैभन्दा ठूलो दल भए पनि ऊसँग एकल बहुमत भने रहेको छैन ।