सरकारको कार्यशैलीलाई लिएर कांग्रेसभित्रै उकुस-मुकुस

वैशाख १६, २०८२ |प्रकाश बम
सरकारको कार्यशैलीलाई लिएर कांग्रेसभित्रै उकुस-मुकुस

काठमाडौं । सरकारको कार्यशैली र निरन्तरतालाई लिएर अहिले सत्तारुढ नेपाली कांग्रेसभित्रै फरक मत छन् । नेताका दिनहुँका अभिव्यक्तिलाई हेर्दा कांग्रेस सत्तारुढ दल हो या प्रतिपक्षी, छुट्याउनै हम्मे-हम्मे पर्छ । हेर्दा लाग्छ- कांग्रेसभित्र चरम विवादको स्थिति छ । तर कांग्रेस पार्टीका लागि यो नौलो भने होइन । इतिहासदेखि नै आन्तरिक शक्ति संघर्ष र विवादबाट गुज्रँदै अघि बढेको देखिन्छ, नेपाली कांग्रेस ।

सदनमा होस् या संसद्‍बाहिर, सरकारको कसैले धेरै आलोचना गरिरहेको छ भने त्यो हो, नेपाली कांग्रेस । कांग्रेसका शीर्ष नेताहरु बचाउमा लाग्दा पदाधिकारी नै सरकारको कार्यशैलीको आलोचना गरिरहेका हुन्छन्, सरकारको निरन्तरतामाथि प्रश्न उठाइरहेका हुन्छन् । यहाँ स्मरण गर्नुपर्ने कुरा के छ भने, संसद्को पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेसहितको गठबन्धन सरकार छ अहिले । तर सरकारकै विषयमा नेताहरुका परस्परविरोधी विचार र आक्रोश सुन्दा लाग्छ- कांग्रेसभित्र चरम विवाद छ ।

सरकार होस् या पार्टी सञ्चालनको विषय नेपाली काँग्रेसमा सदैव मतभेद देखिन्छ । गुटगत होस वा एजेण्डागत नेताहरुले फरकमत राखेकै हुन्छन् । कतिपय अवस्थामा कुरा यतिसम्म उठ्छ की लाग्छ अब पार्टी नै विभाजन हुन्छ । तर इतिहास हेर्ने हो स्थापनाकालदेखि नै कांग्रेस आन्तरिक शक्ति संघर्ष, विवाद र फरक मतबाटै अघि बढेको देखिन्छ । 

२००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस एकीकरणपछि नेपाली कांग्रेस बनेको बेला पार्टीमा सशस्त्र क्रान्ति गर्ने कि शान्तिपूर्ण आन्दोलन गर्ने भन्ने विषयमा मतभेद थियो । जित्ने पक्षलाई संस्थापक र नेतृत्वविरुद्ध फरक मत राख्नेहरुलाई इतर पक्ष भन्ने प्रचलन अहिलेसम्म कायम छ । 

मातृकाप्रसाद कोइराला र बिपी कोइराला/गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भटराई तथा गणेशमान सिंह/ गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा/ देउवा र रामचन्द्र पौडेल तथा देउवा र शेखर कोइरालाबीच गुट र फरक मतको अभ्यास अहिले पनि कायम छ । यसलाई नेताहरुले गुटगत राजनीतिको उपमा खुल्लम खुल्ला दिने गरेका छन् ।

२०५१ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले सदनमा पेश गरेको धन्यवाद प्रस्ताव समेत पार्टीभित्रैकै फरक मतका कारण फेल भएको थियो । आफ्नै दलका ३६ सांसद अनुपस्थित भइदिँदा संसद् नै विघटनको अवस्था बनेको थियो । 

त्यसबेला कांग्रेस सांसदहरु छत्तिसे र चौहत्तरे समूह भनेर चर्चामा आए । विवाद उत्कर्षमा पुग्दा २०५९ असोजमा पार्टी नै फुट्यो । त्यतिमात्रै होइन सभापति शेरबहादुर देउवाले पार्टीका भागबण्डामा संस्थापन पक्षलाई ६० र प्रतिस्पर्धी समूहलाई ४० प्रतिशतको परम्परा बसाउनुभएको छ । 

पछिल्लो समय कांग्रेसमा शेखर कोइरालाले कोशी प्रदेशमा पार्टीको निर्णयविपरीत केदार कार्कीलाई एमालेको सहयोगमा मुख्यमन्त्री बनाएकोदेखि चुनाव अगाडि गठबन्धन नगर्ने नीतिसम्म आइपुग्दा फरक मतको अभ्यास कायमै छ ।

अहिले केपी ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणमा पनि कांग्रेसभित्र फरक मत छ । नेता शेखर कोइराला र महामन्त्री गगन थापा लगायतका नेता सरकारसँग रुष्ट छन् । तर शेरबहादुर देउवा र उहाँ निकट नेताहरु भने सरकारले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरिरहेका हुन्छन् ।

यि सबै हेर्दा लाग्छ लाग्छ- कांग्रेसभित्र गहिरो विवाद छ र यसले पार्टी फुट र सरकार परिवर्तनसम्मको अवस्था आउनसक्छ । तर वास्तवमा कांग्रेसको चरित्र नै हो-खुलेरै एकअर्काको विरोध र कटाक्ष गर्ने अनि फरक मत राख्ने । जसलाई कांग्रेसीहरु लोकतान्त्रिक अभ्यास भन्छन् ।

तर, सत्तारुढ दलभित्रैको यो प्रवृत्तिले सरकारको स्थिरतामा भने जहिले पनि त्रासको स्थिति सिर्जना गरिरहेको छ । अझ सरकारमै बसिरहेको दलका जिम्मेवार नेताले प्रतिपक्षी दलसँग मिलेर सरकार चलाउनुपर्छ भन्ने खालको अभिव्यक्ति दिनुले राजनीतिमा झनै अन्योल थपिरहेको छ । खासमा नेपाली काँग्रेसको चरित्रनै बनेको छ, गुटगत राजनीति गर्ने र व्यक्ति हेरेर फरक मत राख्ने ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।