किएभमा आक्रमण रोक्न पुटिनलाई ट्रम्पकाे आग्रह

वार्ताका लागि ट्रम्पका विशेष दूत स्टिभ चाँडै मस्को जाने
वैशाख १२, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
किएभमा आक्रमण रोक्न पुटिनलाई ट्रम्पकाे आग्रह

काठमाडौं । युक्रेनकाे राजधानी किएभमा भएको घातक रूसी मिसाइल आक्रमणपछि अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनलाई आक्रमण रोक्न आग्रह गर्नुभएको छ ।

किएभ आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको छ भने ९० भन्दा बढी घाइते भएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै कीएभमाथिको रूसी आक्रमणबाट आफु खुसी नभएको उल्लेख गर्नुभएको छ । उहाँले आक्रमणका लागि यो अनावश्यक र गलत समय भएको पनि बताउनुभएको छ । 

ट्रम्पले पुटिनको नामै उल्लेख गरेर युद्ध रोक्न र शान्ति सम्झौता गर्न आग्रह गर्नुभएको हो । ट्रम्पका विशेष दूत स्टिभ विटकोफ चाँडै रूस भ्रमणमा जाने र पुटिनसँग वार्ता गर्ने तयारीमा रहेको पनि ह्वाइट हाउसले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्ना सहयोगी राष्ट्रहरूलाई रूसमाथि थप दबाब दिन आग्रह गर्दै आक्रमणलाई ‘सबैभन्दा घातक र दुस्साहसी’ भन्नुभएको छ । 

किएभमा रातभर ७० भन्दा बढी मिसाइल र १ सय ४५ ड्रोन प्रहार गरिएका थिए। रूसी पक्षले भने ती आक्रमण युक्रेनको रक्षा उद्योगका लक्ष्यहरूमा केन्द्रित भएको दाबी गरेको छ। यस आक्रमणले ट्रम्पको युद्ध रोक्ने प्रयासमा थप चुनौती थपिएको देखिन्छ।