युक्रेनसँगको शान्ति वार्ताका लागि रुसी राष्ट्रपति पुटिनको साकारत्मक संकेत

वैशाख ९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
युक्रेनसँगको शान्ति वार्ताका लागि रुसी राष्ट्रपति पुटिनको साकारत्मक संकेत

काठमाडौं । रुस-युक्रेन युद्ध शुरु भएको प्रारम्भिक चरणयता पहिलो पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग द्वीपक्षीय वार्ताका लागि तयार रहेको संकेत गर्नुभएको हो । 

रुसी सरकारी टेलिभिजनसँग कुरा गर्दै पुटिनले कुनै पनि शान्ति प्रयासलाई रुसले सदैव सकारात्मक रुपमा हेरेको र युक्रेनी प्रतिनिधिले पनि यस्तै प्रकारको अनुभूति राख्छन् भन्ने आशा लिएको बताउनु भएको हो । 

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनको यो टिप्पणीले गैरसैनिक लक्ष्यमाथि आक्रमण नगर्ने विषयमा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने चाहनालाई संकेत गरेको बताउनु भएको छ ।

उता, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनको टिप्पणीप्रति कुनै प्रत्यक्ष जवाफ नफर्काए पनि नागरिकको सुरक्षालाई सुनिश्चित गर्ने कुनै पनि संवादका लागि तयार रहेको बताउनु भएको छ ।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण शुरु गरेयता दुवै पक्षबीच अहिलेसम्म कुनै प्रत्यक्ष वार्ता भएको छैन । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र उहाँको प्रशासनले दुवै पक्षबीच एक महिनाका लागि आंशिक युद्धविराम गराउन प्रयास गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन । आइतबार आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा एउटा पोष्ट गर्दै ट्रम्पले रुस र युक्रेनबीच यसै साता सहमति हुने आशा व्यक्त गर्नुभएको थियो ।