जम्मु कश्मिरमा भएकाे आतंकवादी हमलापछि पाकिस्तानी कुटनीतिज्ञलाई भारत छाड्न निर्देशन

सिन्धु जल सन्धि स्थगित गर्ने भारतीय सुरक्षा समितिको निर्णय
वैशाख ११, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
 जम्मु कश्मिरमा भएकाे आतंकवादी हमलापछि पाकिस्तानी कुटनीतिज्ञलाई भारत छाड्न निर्देशन

काठमाडौं । भारतले जम्मू कश्मिरको पहलगाममा आतंकवादी हमलापछि नयाँ दिल्लीस्थित पाकिस्तानी दूतावासका रक्षा, सैन्य, नौसेना र वायुसेनाका कूटनीतिज्ञलाई एक सूचना जारी गर्दै ७ दिनभित्र देश छोड्न आदेश दिएको छ । 

भारतले पाकिस्तानको राजधानी इस्लामावादस्थित भारतीय दूतावासमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेनाका सल्लाहकारलाई फिर्ता बोलाउने निर्णय समेत गरेको छ ।

जम्मू-कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकमा पाँच प्रमुख निर्णय गरिएको छ । 

बैठकले पाकिस्तानसँग रहेको सिन्धु जल सन्धिलाई पनि स्थगित गर्ने निर्णय गरेको छ । भारत र पाकिस्तानबीच रहेको सिन्धु जल सन्धि सफल अन्तर्राष्ट्रिय सन्धिका रूपमा हेरिन्छ । दुई देशबीच पटक-पटक युद्ध हुँदा पनि उक्त सन्धिमा असर पर्ने गरेको थिएन । 

दुई देशबीच सन् १९६० मा उक्त सन्धि भएको थियो । त्यस्तै पाकिस्तानी नागरिकले सार्क राष्ट्रका सदस्यका नाताले पाउँदै आएको भिसा छुट योजना पनि बन्द गरिएको छ । भारतको विदेश मन्त्रालयले हिजो राति अबेर पत्रकार सम्मेलन गरेर सरकारले लिएका ५ वटा निर्णय सार्वजनिक गरेको हो । 

सार्क भिसा छुटअन्तर्गत पाकिस्तानी नागरिकलाई भारत आउन छुट नदिइने पत्रकार सम्मेलनमा विदेश सचिव बिक्रम मिस्रीले बताउनुभयो । त्यस सुविधाअन्तर्गत भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न भनिएको छ । 

त्यस्तै, पञ्जाबमा दुई देशको सिमानामा रहेको अटारी एकीकृत चेक पोस्टलाई बन्द गर्ने निर्णय पनि भारत सरकारले गरेको छ । समिति बैठकमा रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालसहित उच्च सुरक्षा अधिकारीहरू सहभागी थिए ।