काठमाडौं । रुसले युक्रेनको राजधानी किएभमा गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तिमा ९ जना मारिएका छन् भने ६३ जना घाइते भएका छन् ।
युक्रेनी वायु सेनाले रुसले ११ वटा बलिष्टिक क्षेप्यास्त्र, ५५ वटा क्रुज क्षेप्यास्त्र, ४ वटा ग्लाइड बम र १ सय ४५ वटा ड्रोनले आक्रमण गरेको जनाएको छ । तीमध्ये ४८ वटा क्षेप्यास्त्र र ६४ वटा ड्रोनलाई आकाशमै ध्वस्त पारी खसालेको युक्रेनी सेनाले दाबी गरेको छ ।
राजधानी किएभका अतिरिक्त रुसले खार्किभ क्षेत्रमा पनि आक्रमण गरेको जनाइएको छ । उता, रुसी सेनाले गएराति युक्रेनका तर्फबाट प्रहार गरिएको ८७ वटा ड्रोन खसालेको दाबी गरेको छ ।
यसअघि, अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रुससँगको शान्ति वार्ताप्रति युक्रेनी राष्ट्रपति जेलेन्स्कीले व्यक्त गरेको अभिव्यक्तिको आलोचना गर्नुभएको थियो । राष्ट्रपति जेलेन्स्कीले क्राइमियामाथि रुसको कब्जालाई युक्रेनले मान्यता नदिने अडान राखेपछि ट्रम्पले उहाँको यो धारणा शान्ति वार्ताका लागि निकै घातक हुने टिप्पणी गर्नुभएको थियो । ट्रम्पले जेलेन्स्कीले शान्ति या युद्धमध्ये एक रोज्नुपर्ने चेतावनी समेत दिनुभएको थियो ।
रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिकाले प्रयास गर्दै आए पनि त्यो सफल हुन सकेको छैन । जनवरीमा सत्ता सम्हाल्नु अघि ट्रम्पले आफूले सत्ता सम्हालेको २४ घण्टाभित्रै रुस-युक्रेन युद्धविराम गराउने दाबी गर्नुभएको थियो ।