इजरायल-हमास युद्ध अन्त्यका लागि कतार र इजिप्टको नयाँ प्रस्ताव, पाँचदेखि सात वर्षसम्मको युद्धविराममा जोड

हमासको उच्चस्तरीय टोली वार्ताका लागि कायरो पुग्दै
वैशाख ९, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायल-हमास युद्ध अन्त्यका लागि कतार र इजिप्टको नयाँ प्रस्ताव, पाँचदेखि सात वर्षसम्मको युद्धविराममा जोड

काठमाडौं । इजरायल-हमास युद्ध अन्त्यका लागि कतार र इजिप्टले नयाँ प्रस्ताव तयार पारेका छन् ।

नयाँ प्रस्तावमा पाँचदेखि सात वर्षसम्मको युद्धविराम, इजरायली बन्दीहरूको रिहाइ, इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको रिहाइ, युद्धको औपचारिक अन्त्य र गाजाबाट पूर्णरूपमा इजरायली सेनाको फिर्तिको व्यवस्था समेटिएको छ ।

कतार र इजिप्टको प्रस्तावमा छलफलका लागि हमासको एक उच्चस्तरीय टोली काइरो पुग्ने तयारीमा रहेको बीबीसीले जनाएको छ । काइरो वार्तामा हमासका राजनीतिक परिषद्का प्रमुख मोहम्मद दरवेश र प्रमुख वार्ताकार खालिल अल-हय्या सहभागी हुने बताइएको छ । 

पछिल्लो युद्धविराम सम्झौता एक महिनाअघि तोडिएको थियो । इजरायल र हमासले एकअर्कालाई युद्धविराम भंग गरेको दोष लगाउँदै आएका छन् । केही दिन अघिमात्र हमासले इजरायलको प्रस्ताव अस्वीकार गरेको थियो । 

जसमा हमासले हातहतियार त्याग्नुपर्ने सर्तसहित ६ हप्ते युद्धविराम प्रस्ताव गरिएको थियो । त्यसको प्रतिक्रियामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासलाई पूर्णरूपमा ध्वस्त नगरेसम्म र सबै बन्दीहरू नफर्काएसम्म युद्ध अन्त्य नहुने बताउनुभएको थियो ।

हमासले भने इजरायलले पहिले युद्ध अन्त्यको प्रतिबद्धता जनाउनुपर्ने माग गर्दै आएको छ ।