काठमाडौं । इसाई धर्मावलम्बीहरुका सर्वोच्च गुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ रहँदै आउनु भएका पोप फ्रान्सिसको भ्याटिकन सिटीस्थित आफ्नै निवासमा निधन भएको हो । स्थानीय समयअनुसार आज विहान ७ बजेर ३५ मिनेट जाँदा उहाँको निधन भएको रोमन क्याथोलिक चर्चका धर्म गुरु कार्डिनल फारेलले जानकारी दिनुभएको हो । फारेलले पोप फ्रान्सिसको समग्र जीवन ईश्वरको सेवा र चर्चप्रति समर्पित रहेको उल्लेख गर्नुभएको छ ।
एक दिनअघि मात्रै पोपले भ्याटिकन सिटीस्थित सेन्ट पिटर्स स्क्वायरको बाल्कोनीबाट त्यहाँ भेला भएका हजारौं श्रद्धालुलाई इस्टरको शुभकामना दिनुभएको थियो । त्यसको केही घण्टाअघि मात्रै अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले उहाँसँग भेट गर्नुभएको थियो ।
इसाई धर्मका संस्थापक जिजस क्राइष्ट पुनर्जीवित भएको दिनलाई इसाई धर्मावलम्बीहरुले इस्टर पर्वका रुपमा मनाउँछन् । लामो समयदेखि अस्वस्थ रहँदै आउनु भएका पोप पाँच साता लामो गहन उपचारपछि गत महिना मात्रै अस्पतालबाट डिस्चार्ज हुनु भएको थियो ।
फ्रान्सिस रोमन क्याथोलिक चर्चको पोप नियुक्त हुने करिब १३ वर्षयताकै पहिलो गैरयुरोपेली अर्थात् ल्याटिन अमेरिकी कार्डिनल हुनुहुन्थ्यो । पोप फ्रान्सिसको निधनप्रति बेलायतका राजा चार्ल्स लगायत विश्वका नेताहरुले शोक र श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले विनम्रताको प्रतीक भन्दै पोपप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएकोछ । नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कुफ, युरोपेली संसदका अध्यक्ष रोबर्टा मेट्सोला, इजरायली राष्ट्रपति इज्याक हर्जोग, स्विस राष्ट्रपति करिन केलर सटर लगायतले पोपको निधनप्रति शोक व्यक्त गरेका छन् ।