काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनले अस्थायी युद्धविराम घोषणा गरेपनि रूसले आक्रमण जारी राखेको युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बताउनुभएको छ ।
रुसी राष्ट्रपति पुटिनले इस्टरको अवसरमा हिजो साँझदेखि आज मध्यरातसम्मका लागि सबै सैन्य कारबाही रोक्न आदेश दिनुभएको थियो । रूसी राष्ट्रपति कार्यालय क्रेमलिनको टेलिग्राम च्यानलमार्फत् जारी गरिएको वक्तव्यमा युक्रेनी पक्षले पनि सोहीअनुसार कदम चाल्ने अपेक्षा गरेको उल्लेख छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्धविरामको पालना गर्ने जवाफ दिँदै रूसले नै युद्धविराम तोडेको आरोप लगाउनुभएको हो । जेलेन्स्कीका अनुसार रूसका कुर्स्क र बेलगोरोद क्षेत्रमा लडाइँ जारी छ र रुसी ड्रोनले अझै आक्रमण गरिरहेका छन् ।
सामाजिक सञ्जाल एक्समा जेलेन्स्कीले ३० दिने युद्धविरामको प्रस्ताव टेबलमै रहेको भन्दै रूस बिना सर्त तयार भए आफूहरूले पनि सोहीअनुसार व्यवहार गर्ने उल्लेख गर्नुभएको छ ।
अमेरिकाले साउदी अरब वार्तामा ३० दिनको युद्धविरामको प्रस्ताव राखेको थियो । जसमा युक्रेन तयार भए पनि रूसले भने विभिन्न सर्तहरू अघि सारेको थियो ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै डनल्ड ट्रम्प प्रशासनले शान्ति वार्ताका लागि प्रयास गरिरहे पनि टुंगोमा भने पुग्न सकेको छैन । ट्रम्पले वाशिङ्टनले अब युद्ध अन्त्यका लागि मध्यस्थता गर्ने प्रयासबाट अमेरिका पछाडि हट्न सक्ने बताइसक्नुभएको छ ।
रुसले युक्रेनमा सन् २०२२ फेब्रुअरी २४ बाट पूर्ण आक्रमण सुरू गरेको थियो । यसअघि सन् २०२३ को जनवरीमा क्रिसमसको समयमा भएको युद्धविराम प्रयास दुवै पक्षको असहमतिको कारण विफल भएको थियो ।