रूस-युक्रेनबीच युद्धविराम सहमति हुने संकेत नदेखिएको भन्दै मध्यस्थताबाट बाहिरिने अमेरिकाको चेतावनी

चीनले रूसलाई तोप र बारुद दिएको युक्रेनको आरोप
वैशाख ५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
रूस-युक्रेनबीच युद्धविराम सहमति हुने संकेत नदेखिएको भन्दै मध्यस्थताबाट बाहिरिने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रूस र युक्रेनबीच युद्धविराम गराउने प्रयासबाट अमेरिका बाहिरिने चेतावनी दिनुभएको छ । उहाँले रूस र युक्रेनबीच सहमति हुन सक्ने स्पष्ट संकेत नदेखिए शान्ति सम्झौताका लागि मध्यस्थता गर्ने प्रयासबाट बाहिरिने चेतावनी दिनुभएको हो ।

पेरिसमा युरोपेली तथा युक्रेनी नेताहरूसँग भेटेर स्वदेश फर्कने क्रममा रुबियोले युद्धविरामको प्रयासमा हप्तौं र महिनौं पर्खिन नसकिने भन्दै यस्तो चेतावनी दिनुभएको हो । युक्रेनसँगको खनिज सम्झौताका सम्बन्धमा केही प्रगति देखिए लगत्तै रुबियोको यस्तो चेतावनी आएको हो ।

यसअघि आजै अमेरिका र युक्रेनबीच बहुप्रतीक्षित खनिज सम्झौताको प्रारूपमा हस्ताक्षर भएको थियो । अन्तिम वा पूर्ण सम्झौतामा भने आगामी साता हस्ताक्षर हुने बताइएको छ । युक्रेनकी प्रथम उपप्रधानमन्त्री समेत रहेकी आर्थिक विकास तथा व्यापारमन्त्री युलिया एसभिरिडेन्कोले सामाजिक सञ्जाल एक्समा किएभ र वासिंगटनबीच ‘मेमोरेन्डम अफ इन्टेन्ट’ आशयपत्रमा हस्ताक्षर भएको घोषणा गर्नुभएको हो । उक्त आशयपत्रमा एसभिरिडेन्को र अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पृथकरूपमा हस्ताक्षर गर्नुभएको थियो ।

यो आशयपत्रले दुवै देशबीच आर्थिक साझेदारी सम्बन्धी सम्झौताको बाटो खुला गरेको उहाँले बताउनुभएको छ । पूर्ण सम्झौतामा युक्रेनको पुनःनिर्माणका लागि लगानी कोष स्थापना गर्ने कुरा समेत समावेश हुने उहाँले बताउनुभएको छ । अमेरिकामा राष्ट्रपति डनल्ड ट्रम्प सत्तामा आएयता युक्रेन र अमेरिकाबीच युक्रेनमा पाइने दुर्लभ खनिज उत्खनन र त्यसको साझेदारीका सम्बन्धमा छलफल हुँदै आएका थिए ।

पूर्ण सम्झौतामा युक्रेनसँग रहेको दुर्लभ खनिज र जीवाश्म ऊर्जाको उत्खनन र साझेदारीको विस्तृत कुरा उल्लेख हुने विश्वास गरिएको छ । ट्रम्पले रूसविरुद्धको युद्धमा अमेरिकी सहयोगको निरन्तरता चाहने हो भने युक्रेनले उसको दुर्लभ खनिजसम्म वासिङटनलाई पहुँच दिनुपर्ने बताउँदै आउनुभएको थियो । खनिज सम्झौता गर्ने भनेरै अमेरिका पुग्नुभएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र राष्ट्रपति ट्रम्प तथा उपराष्ट्रपति जेडी भ्यान्सबीच फेब्रुअरी २८मा ह्वाइटमा सार्वजनिक रूपमै वादविवाद भएपछि सम्झौतामा हस्ताक्षर हुन सकेको थिएन ।

यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चीनले युक्रेनविरुद्धको युद्धमा लड्न रुसलाई तोप तथा बारुद आपूर्ति गरिरहेको आरोप लगाउनु भएको छ । चीनले भने आधारहीन भन्दै जेलेन्स्कीको आरोपको खण्डन गरेको छ ।