काठमाडौं । वैज्ञानिकहरूले सौर्यमण्डलभन्दा बाहिर रहेको एउटा ग्रहमा जीवनको सम्भावित लक्षण देखापरेको बताएका छन् । क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताको समूहले हाम्रो सौर्यमण्डलभन्दा बाहिर रहेको "के टु एटि्टन बी" नामको ग्रहमा जीवनको सम्भावित लक्षण फेला पारेको हो । तर यसलाई पुष्टि गर्न थप तथ्यांक आवश्यक पर्ने अनुसन्धानकर्ताको भनाइ छ ।
अनुसन्धानकर्ताहरूले "के टु एटि्टन बी"को वायुमण्डलको अध्ययनका क्रममा यस्ता अणुको संकेत प्राप्त गरेका हुन् । जुन पृथ्वीमा मात्र पाइन्छन् । ती अणु पृथ्वीमा रहेका सामान्य जीवले मात्रै उत्पादन गर्न सक्ने अनुसन्धानकर्ताको भनाइ छ । अन्तरिक्षमा रहेको नासाको दूरबिन जेम्स वेब स्पेस टेलिस्कोपले खिचेको तस्वीरको विश्लेषणका आधारमा अनुसन्धानकर्ताले यस्तो निष्कर्ष निकालेका हुन् । जेम्स वेब स्पेश टेलिस्कोपले के टु एटि्टन बीको वायुमण्डलमा जीवनसँग सम्बन्धित रसायन फेला पारेको यो दोस्रो पटक हो । यसपटको लक्षण थप आशाजनक भएको बताइएको छ ।
क्याम्ब्रिज विश्वविद्यालयको "इन्स्टिच्युट अफ एस्ट्रोनोमी"का प्रमुख अनुसन्धानकर्ता प्रोफेसर निक्कु मधुसुधनले चाँडै नै अझ बलियो प्रमाण फेला पर्ने आशा व्यक्त गर्नुभएको छ ।
अनुसन्धानकर्ताहरूले उक्त ग्रहको वायुमण्डलमा जीवनसँग सम्बन्धित दुई प्रकारका ग्यास डाइमिथाइल सल्फाइड र डाइमिथाइल डाइसल्फाइडको संकेत फेला पारेका हुन् । पृथ्वीमा यी ग्यास समुद्रमा पाइने अल्गी र ब्याक्टेरियाले मात्रै उत्पादन गर्न सक्ने बताइएको छ ।
एउटा सानो रातो तारालाई परिक्रमा गरिरहेको "के टु एटि्टन बी" ग्रह आकारमा पृथ्वीभन्दा साढे दुई गुणा ठुलो छ भने यो पृथ्वीबाट सात सय "ट्रिलियन" माइल्स पर छ । एक ट्रिलियन भन्नाले दश खर्बलाई बुझाउँछ । जेम्स वेब स्पेश टेलिस्कोप यति शक्तिशाली छ कि यसले उक्त ग्रहले परिक्रमा गरिरहेको स्यानो सूर्यबाट निस्किने प्रकाशको माध्यमबाट यसको वायुमण्डलमा रहेको रसायनको सम्मिश्रणको विश्लेषण गर्न सक्दछ ।
पृथ्वीभन्दा बाहिर जीवन छ कि छैन भन्ने कुरा लामो समयदेखि जिज्ञासा, अनुसन्धान र रहस्यको विषय रहँदै आएको छ ।