काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले चिनियाँ वस्तुमाथिको आयात कर २ सय ४५ प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिएको छ । अहिले अमेरिका आयात हुने स्मार्टफोन र केही विद्युतीय सामग्री बाहेकका चिनियाँ वस्तुमाथिको आयात कर १ सय ४५ प्रतिशत कायम छ ।
ह्वाइट हाउसले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्पले लगाएको आयातकर विरुद्ध प्रतिशोधात्मक कदम चालेका कारण चीनमाथिको आयात करमा अझै भारी वृद्धि हुनसक्ने चेतावनी दिएको हो । राष्ट्रपति ट्रम्पले महत्वपूर्ण खनिज पदार्थको आयातमाथिको निर्भरताका कारण राष्ट्रिय सुरक्षामा देखा परेको खतरा सम्बन्धमा अनुसन्धान गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ह्वाइट हाउसले यस्तो विज्ञप्ति जारी गरेको हो ।
ट्रम्पद्वारा जारी कार्यकारी आदेशमा वाणिज्य मन्त्रालयलाई व्यापार विस्तार कानुन, १९६२ अन्तर्गत महत्वपूर्ण खनिज पदार्थको आयातले राष्ट्रिय सुरक्षामा पर्ने प्रभावको मूल्यांकन गर्न निर्देशन दिइएको छ ।
ह्वाइट हाउसको यस्तो चेतावनीप्रति चिनियाँ विदेश मन्त्रालयले आफूहरुले कर वा व्यापार युद्ध नचाहेको तर यसबाट नडराउने प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले कर युद्धको शुरुवात अमेरिकाले नै गरेको र आफ्नो वैधानिक अधिकारको सुरक्षार्थ चीनले जवाफी कदम चालेको बताउनु भएको छ ।
अमेरिकी अर्थतन्त्रलाई पुनः महान बनाउने भन्दै अमेरिका पहिलो भन्ने व्यापार नीति अंगीकार गरेका ट्रम्पले आफू सत्तामा आएदेखि नै चीनलाई मुख्य तारो बनाउँदै आउनु भएको छ । यसैक्रममा ट्रम्पले पटक-पटक गरी चीनबाट आयात हुने वस्तुमाथिको आयात कर १ सय ४५ प्रतिशत पुर्याउनु भएको छ भने चीनले पनि जवाफी कदम चाल्दै अमेरिकाबाट आयात हुने वस्तुमा १ सय २५ प्रतिशतसम्मको कर लगाएको छ ।
यसैबीच, चीनले अमेरिका निर्यात हुने ७ प्रकारका दुर्लभ खनिज पदार्थ र चुम्बक निर्यातमा रोक लगाएपछि त्यसको प्रभाव स्मार्टफोनदेखि हतियार, विद्युतीय सवारी, वायुयान निर्माण कम्पनीसम्ममा पर्ने देखिएको छ । पृथ्वीको गर्भमा पाइने १७ प्रकारका खनिजलाई दुर्लभ खनिज मानिन्छ । वैश्विक दुर्लभ खनिज उत्पादनको करिब ९० प्रतिशत चीन एक्लैले उत्पादन गर्दछ । ट्रम्पसँगको आयात कर युद्धमा चीनसँग दुर्लभ खनिज एक शक्तिशाली कार्डका रुपमा रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुको विश्लेषण छ ।
यसैगरी, चीनले आफ्ना वायुसेवा कम्पनीहरुलाई अमेरिकी विमान निर्माता कम्पनी बोइङद्वारा निर्मित विमान आयात नगर्न निर्देशन दिएको छ ।
उता, यस वर्षको पहिलो त्रैमासिकमा चीनको कुल ग्राहस्थ उत्पादन अघिल्लो वर्षभन्दा ५ दशमलव ४ प्रतिशतले बढेको तथ्यांकले देखाएका छन् ।