सुडानको अर्धसैन्य बल आरएसएफले डार्फर क्षेत्रमा गरेको आक्रमणमा ४ सयभन्दा बढी मानिस मारिएको खुलासा

वैशाख २, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
सुडानको अर्धसैन्य बल आरएसएफले डार्फर क्षेत्रमा गरेको आक्रमणमा ४ सयभन्दा बढी मानिस मारिएको खुलासा

काठमाडौं । सुडानको अर्धसैन्य बल आरएसएफले डार्फर क्षेत्रमा हालैका दिनमा गरेको आक्रमणमा ४ सयभन्दा बढी मानिस मारिएको विश्वसनीय स्रोतलाई उल्लेख गर्दै संयुक्त राष्ट्रसंघले जनाएको छ ।

गत साता आरएसएफले एल फसर शहरको बाहिरी भागमा रहेका शरणार्थी शिविरमा व्यापक स्थल र हवाई कारबाही गरेको थियो । प्रतिद्वन्द्वी सुडानी सेनाको नियन्त्रणबाट उत्तरी डार्फरको राजधानी शहर एल फसरलाई आफ्नो कब्जामा लिन आरएसएफले कारबाही शुरु गरेको हो । 

सुडानी सेना र आरएसएफबीच सन् २०२३ को अप्रिलदेखि रक्तपातपूर्ण शक्ति संघर्ष चल्दै आएको छ । त्यसयता गृहयुद्धमा फसेको सुडानमा विश्वको सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको र लाखौं मानिस घर छाडेर विस्थापित हुन बाध्य भएको समाचारमा जनाइएको छ । गत बिहीबार र शुक्रबारको बिचमा मात्रै १ सय ४८ जना मारिएको पुष्टि भएको राष्ट्रसंघले जनाएको छ । 

मारिनेमा कम्तिमा नौ जना मानवीय सहायताकर्मी रहेको जनाइएको छ । एल फसरको बाहिरी घेरामा रहेका जमजम र अबु शोउक शरणार्थी शिविरमा ७ लाखभन्दा बढी शरणार्थी छन् । उनीहरुले भोकमरीजस्तो अवस्थाको सामना गर्नु परिरहेको जनाइएको छ । आरएसएफले शनिबार एक विज्ञप्ति जारी गर्दै सर्वसाधारणमाथि भएको आक्रमणका लागि आफू जिम्मेवार नरहेको र आफूहरुलाई बदनाम गराउन सेनाले नै जमजम शरणार्थी शिविरमा मानिसहरु मारेको आरोप लगाएको थियो । 

त्यसको भोलिपल्टै अर्थात आइतबार आरएसएफले सुडानी सेनाको नियन्त्रणबाट जमजम शरणार्थी शिविरलाई सफलतापूर्वक मुक्त गराएको दाबी गरेको थियो । निर्दोष नागरिकलाई मानव ढालका रुपमा प्रयोग गर्दै सेनाले जमजम शरणार्थी शिविरलाई सैन्य ब्यारेक बनाएको आरोपसमेत आरएसएफले लगाएको छ । एल फसर सेनाको नियन्त्रणमा रहेको डार्फर क्षेत्रको अन्तिम प्रमुख शहर हो । 

यसैबीच, संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टुर्कले संलग्न सबैपक्षलाई द्वन्द्व समाधानका लागि अर्थपूर्ण कदम चाल्ने पूर्व प्रतिबद्धता अनुसार काम गर्न आह्वान गर्नुभएको छ ।