अमेरिकाबाट त्रुटिवश निर्वासित एल साल्भाडोरका नागरिकलाई फिर्ता पठाउन राष्ट्रपति बुकेलेद्वारा अस्वीकार

वाशिङ्टन भन्छ- साल्भाडोरसँगको सहकार्य सुरक्षाका लागि उदाहरण
वैशाख २, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकाबाट त्रुटिवश निर्वासित एल साल्भाडोरका नागरिकलाई फिर्ता पठाउन राष्ट्रपति बुकेलेद्वारा अस्वीकार

काठमाडौं । एल साल्भाडोरले डनल्ड ट्रम्प प्रशासनले त्रुटिवश निर्वासित गरेका आफ्ना नागरिकलाई अमेरिका फिर्ता नपठाउने भएको छ ।

अमेरिका भ्रमणमा रहनुभएका राष्ट्रपति नायिब बुकेलेले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँगको भेटमा उक्त कुरा बताउनुभएको हो । ट्रम्प र बुकेलेबीच निकै राम्रो सम्बन्ध छ । साल्भाडोर पठाइएका किल्मार आब्रेगो गार्सियालाई साल्भाडोरले फिर्ता नपठाउने भएको हो । 

अमेरिकी सर्वोच्च अदालतले गार्सियालाई अमेरिका फर्काउन आदेश दिएपनि साल्भाडोरले यस्तो कदम चाल्न अस्वीकार गर्ने भएको छ । निर्वासित गरिएका गार्सिया मेरिल्याण्डमा आफ्नो परिवारसँग बस्दै आएको र सन् २०१९ मा अमेरिकी अदालतले उनलाई निर्वासनबाट जोगाउने आदेश दिएको थियो ।

तर ट्रम्प प्रशासनले गार्सियालाई त्रुटिवश निर्वासित गरेको थियो । गार्सिया एमएस-थर्टिन नामक आपराधिक गिरोहको सदस्य भएको दाबी अमेरिकाले गर्दै आएको छ । यद्यपि, उनका वकिलले भने यो आरोप अस्वीकार गरेका छन् । 

गार्सिया अहिले साल्भाडोरको कुख्यात अपराधि राखिने कारागारमा छन् । जहाँ अमेरिकाले अन्य २ सय ६० जना व्यक्तिलाई पठाइसकेको छ । तीमध्ये धेरैलाई आपराधिक गिरोहको सदस्य भएको आरोप लगाइएको छ ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रूबियोले साल्भाडोरसँगको सहकार्य, सुरक्षा र समृद्धिको उदाहरण भएको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले पनि प्रशंसा गर्दै बुकेलेको राम्रो काम गरिरहेको बताउनुभयो ।



सम्बन्धित