५० दिने युद्धविरामको सट्टामा ५ बन्धक रिहा गर्ने प्रस्तावमा हमास सकारात्मक

मध्यस्थकर्ता राष्ट्रको प्रस्ताव प्राप्त गरेको इजरायी प्रधानमन्त्री कार्यालयको भनाइ
चैत्र १७, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
५० दिने युद्धविरामको सट्टामा ५ बन्धक रिहा गर्ने प्रस्तावमा हमास सकारात्मक

काठमाडौं । इजरायलसँग ५ जना थप बन्धकको रिहाइ सट्टामा ५० दिनको युद्धविरामको प्रस्तावमा हामास सकारात्मक देखिएको छ । हमास नेता खलील अल-हय्यमले मध्यस्थकर्ता देशहरु इजिप्ट र कतारको प्रस्तावमा समर्थन जनाएका हुन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले पनि युद्धविरामसम्बन्धि प्रस्तावको मस्यौदा प्रप्त गरेको जनाएको छ । 

युद्धविरामको प्रयास चलिरहँदा इजरायलले भने गाजाको रफाह क्षेत्रमा हवाई तथा भौतिक हमलाहरू जारी राखेको छ । पहिलो चरणको सम्झौतामा हामासले ३३ जना बन्धकलाई रिहा गरेको थियो। 

हमाससँग अझै ५९ जनालाई बन्धक राखेको ठानिएको छ । पहिलो चरणको युद्धविराम भाँडिएपछि गत मार्च १८ बाट इजरायलले सैनिक कारवाही फेरि सुरु गरेको थियो । इजरायलको पछिल्ला हमलामा ९०० भन्दा बढीको ज्यान गएको हामासको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

यसैबीच, इजरायलमा प्रदर्शनकारीहरूले नेतन्याहू र उहाँको सरकारमाथि युद्धविराम तोडेर बाँकी बन्धकहरूको जीवनलाई संकटमा पारेको आरोप लगाएका छन्। हामासले पोस्ट गरेको नयाँ भिडियोमा आफ्नो रिहाइको लागि याचना गर्दै गरेका एक बन्धकको पीडादायी अवस्थामा देखिएको छ ।