डनल्ड ट्रम्पको इरानलाई चेतावनी : परमाणु सम्झौतामा सहमति गर नत्र बमबारी गर्छु

चैत्र १८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
डनल्ड ट्रम्पको इरानलाई चेतावनी : परमाणु सम्झौतामा सहमति गर नत्र बमबारी गर्छु

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले वासिङ्टनसँगको परमाणु कार्यक्रमको सम्झौतामा सहमति नजनाए इरानमाथि बमबारी गर्ने चेतावनी दिनुभएको छ ।

गतहप्ता इरानले अमेरिकासँग सिधा वार्ता नगर्ने निर्णय गरेपछि ट्रम्पको यो टिप्पणी आएको हो । एनबीसी न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले कहिल्यै सामना नगरेको आक्रमण गर्ने चेतावनी दिनुभयो ।

यसअघि, इरानले ओमानमार्फत् ट्रम्पको पत्रको जवाफ पठाउँदै आफ्नो नीति अमेरिकासँग सिधा वार्ता नगर्ने रहेको जनाएको थियो । इरान सधैँ अप्रत्यक्ष वार्तामा संलग्न भएको र अहिले पनि सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अप्रत्यक्ष वार्ता जारी राख्न चाहेको रोयटर्सले जनाएको छ ।

अन्तर्वार्तामा ट्रम्पले रुस र इरानमाथि थप कर लगाउने चेतावनीसमेत दिनुभएको छ ।

पश्चिमा मुलुकहरुले इरानमाथि परमाणु हतियार बनाउन युरेनियमको प्रयोग गरिरहेको आरोप लगाउँदै आएका छन् । इरानले भने आफ्नो परमाणु कार्यक्रम पूर्णरूपमा ऊर्जाको प्रयोजनका लागि भएको दाबी गर्दछ ।