काठमाडौं । म्यानमारमा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । म्यानमारको सैन्य सरकारका अनुसार २ हजार ३८९ जना घाइते भएका छन् भने मान्डलेमा मात्रै १५ सय घर भत्त्किएका छन् ।
भूकम्पले भवनहरू भत्काएको र पूर्वाधारमा ठूलो क्षति पुगेको छ । म्यानमारका जनरल मिन आङ ह्लाइङले मृतकको संख्या अझै बढ्न सक्ने बताउँदै सहयोग र राहत प्रदान गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ । उद्धारकर्मीहरूले भूकम्पका कारण भत्किएको निर्माणाधीन भवनको भग्नावशेषमा पुरिएकाहरूको खोजी गरिरहेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दक्षिणपूर्वी एसियामा सहयोगका लागि स्रोत परिचालन गरिरहेको बताउनुभएको छ । तर उहाँले यस परिस्थितिमा म्यानमार सबैभन्दा कमजोर अवस्थामा रहेको उल्लेख गर्नुभएको छ ।
यसैबीच न्युजिल्यान्डले राहतका लागि म्यानमारलाई ८ लाख ८० हजार पाउन्ड दिने घोषणा गरेको छ ।