काठमाडौं । म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी जिअलोजिकल सर्भे यूएसजीएसले जनाएको छ । छिमेकी थाइल्यान्ड र चीनमा भूकम्पको तीव्र धक्का महसुस गरिएको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु सागाइङ्ग शहरबाट करीब १६ किलोमिटर उत्तरपश्चिममा १० किलोमिटरको गहिराइमा रहेको यूएसजीएसले जनाएको छ ।
स्थानीय समयअनुसार करीब १२ बजेर ५० मिनेटमा भूकम्प गएको हो । म्यानमारको समय नेपाली समयभन्दा ४५ मिनेट अगाडि रहेको छ ।
म्यानमारको राजधानी नेपिदका केही सडकमा चिरा परेको जनाइएको छ । यसैगरी छिमेकी थाइल्यान्डको राजधानी बैंककका केही भवनमा क्षति पुगेको जनाइएको छ । बैंककमा एउटा निर्माणाधीन बहुतल्ले भवन खसेको समाचारमा जनाइएको छ ।
बैंककमा भूकम्पबाट अत्तालिएर सयौं मानिस आआफ्नो घरबाट बाहिर सडकमा आएको जनाइएको छ ।