काठमाडौं । दक्षिण कोरियाको दक्षिणपूर्वी प्रान्त "नर्थ गिओङ्गसाङ्ग"को जंगलमा केही दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । आगोका कारण अहिलेसम्म कम्तिमा १८ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
डढेलोमा परी अन्य १९ जना घाइते भएको जनाइएको छ । कार्यबाहक राष्ट्रपति हान डुक सुले संकट अझै गम्भीर रहेको बताउनु भएको छ । तीव्र हावा र सुख्खा मौसमका कारण आगो नियन्त्रणको प्रयासमा निरन्तर बाधा सिर्जना भएको स्थानीय समाचारमाध्यमले उल्लेख गरेका छन् ।
डढेलो लागेको क्षेत्रबाट २३ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको र थुप्रै सांस्कृतिक सम्पदा प्रभावित भएको जनाइएको छ । डढेलोका कारण १३ सय वर्ष पुरानो गोउन्सा बुद्धिष्ट मन्दिर ध्वस्त भएको जनाइएको छ ।
आगो निभाउने प्रयासमा गएको एउटा अग्निनियन्त्रक हेलिकप्टर बुधवार दिउँसो उइसोङ्ग काउन्टीको पहाडी क्षेत्रमा दुर्घटना भएको छ । जंगलमा थुप्रै डढेलो लागेको र आगो नियन्त्रणका लागि हजारौं अग्निनियन्त्रकका साथै करीब ५ हजार सैनिक परिचालन गरिरहेको जनाइएको छ ।
आगो नियन्त्रणकालागि दक्षिण कोरियामा रहेको अमेरिकी सैन्य अखाडाको हेलिकप्टर समेत प्रयोग गरिएकोछ । डढेलोका कारण करीब १७ हजार हेक्टर क्षेत्रफल ध्वस्त भएको र जंगलक्षेत्रका दृष्टिले यो दक्षिण कोरियाली इतिहासकै तेस्रो ठुलो डढेलो भएको जनाइएकोछ ।
राजधानी सोलबाट करीब एकसय ८० किलोमिटर दक्षिणपूर्वमा रहेको नर्थ गिओङ्गसाङ्ग प्रान्तको सान्चिओङ्ग काउन्टीको जंगलमा गत शुक्रवारदेखि डढेलो शुरु भएको हो । डढेलो छिमेकी उइसोङ्ग काउन्टी हुंदै अहिले आन्डोङ्ग, चिओङ्गसोङ्ग , येओङ्गयाङ्ग र यओङ्गडोक काउन्टीहरुसम्म फैलिसकेकोछ ।