काठमाडौं । युक्रेन युद्ध अन्त्यबारे रुस र अमेरिकाबीच साउदी अरबको रियादमा सोमबार भएको वार्ताको विस्तृत विवरण सार्वजनिक नगरिने मस्कोले जनाएको छ ।
दुवै पक्षले वार्ताको परिणामको विश्लेषण गरिरहेको भन्दै क्रेमलिनले यसको विस्तृत विवरण सार्वजनिक नगरिने बताएको हो । यसअघि दुवै पक्षले आज दिउँसो संयुक्त विज्ञप्ति जारी गर्ने बताइएको थियो । हिजो दुवैपक्षबीच १२ घण्टाभन्दा लामो वार्ता भएको थियो । यसैबीच अमेरिकी र युक्रेनी प्रतिनिधिबिच रियादमा आज दोस्रो चरणको वार्ता भएको छ । यसअघि दुवैपक्षबीच आइतबार पनि वार्ता भएको थियो । रुसीपक्षसँगको वार्तापछि अमेरिकी टोलीले युक्रेनी पक्षसँग पुन: वार्ता गरेको हो ।
सोमवार अमेरिका र रुसबीच भएको वार्तामा युक्रेनलाई ब्ल्याक सी हुँदै खाद्यान्न निर्यात गर्न दिने सम्बन्धी २०२२ को सम्झौता "ग्रेन डील" पुन: लागू गर्ने र त्यसको प्रतिउत्तरमा पश्चिमा देशले रुसविरुद्ध लगाउँदै आएको प्रतिबन्ध खुकुलो पार्ने विषयमा छलफल भएको जनाइएको छ । पश्चिमा देशले सम्झौता अनुसारको काम नगरेको आरोप लगाउँदै टर्किए र राष्ट्रसंघको मध्यस्थतामा भएको उक्त ग्रेन डीलबाट रुस २०२३ को जुलाईमा बाहिरिएको थियो ।
रुससँग भएको वार्ता अत्याधिक राम्रो भएको हृवाइट हाउस स्रोतलाई उल्लेख गर्दै रोयटर्सले जनाएको छ । रुसी वार्ता टोलीका सदस्यले पनि वार्ता लाभदायी भएको प्रतिक्रिया दिएका छन् । दुवै पक्षबाट सकारात्मक प्रतिक्रिया आए पनि वार्तामा भएका सहमति वा प्रगति वारे विस्तृत विवरण नआउँदासम्म अन्योलको अवस्था रहेको छ ।
यसअघि रुस र युक्रेन दुवै देशले सीमित क्षेत्र खासगरी उर्जा संरचनामा आक्रमण नगर्ने गरी एक महिनाका लागि युद्धविराम गर्न सैद्धान्तिक सहमति जनाइसकेका छन् ।