काठमाडौं । रूसले युक्रेनको उत्तरपूर्वी सहर सुमीमा क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणमा कयौँ घाइते भएको बताइएको छ ।
साउदी अरबमा अमेरिकाले युक्रेन र रुसका प्रतिनिधिहरुसँग छुट्टाछुट्टै वार्ता भइरहँदा रूसले युक्रेनमा भीषण क्षेप्यास्त्र आक्रमण गरेको हो ।
युक्रेनका विदेशमन्त्री आन्द्रि सिभिहाले शान्तिबारे झुटो बयान दिनुको सट्टा रुसले आक्रमण रोक्नुपर्ने बताउनुभयो । सुमी रूसको कुर्स्क क्षेत्रसँग सिमाना जोडिएको क्षेत्र हो जसका केही भाग युक्रेनी सेनाले कब्जामा लिएको छ ।
यसैबीच, रूसी सेनाले २ सय २७ वटा युक्रेनी ड्रोनलाई खसालेको दाबी गरेको छ । आधारभूत संरचनामाथि आक्रमण नगर्ने सहमतिको उल्लंघन गरेको दुवै पक्षले आरोप लगाउँदै आएका छन् ।
अमेरिका र रूसबीचको पछिल्लो वार्ता हिजो साउदी अरबको राजधानी रियादमा सम्पन्न भएको छ । जसमा युक्रेनलाई ब्ल्याक सीमार्फत् अनाज निर्यातको अनुमतिबारे छलफल भएको बताइएको छ । सन् २०२२ मा रुस र अमेरिकाबीच सम्झौता भएपनि युद्ध चर्कँदै गएपछि मस्कोले उक्त अनुमति रद्ध गरेको थियो ।
यसको बदलामा रूसले पश्चिमी प्रतिबन्ध फुकुवाको मागलाई सर्तका रुपमा अघि सार्दै आएको छ । वार्ताको संयुक्त वक्तव्य आज सार्वजनिक गरिने रूसी सञ्चामाध्यमहरुले जनाएका छन् ।