काठमाडौं । युक्रेन युद्ध अन्त्यका विषयमा अमेरिका र रूसबीच साउदी अरबको रियादमा वार्ता सुरु भएको छ । रूस-युक्रेनबीच बृहत् युद्धविरामको लक्ष्यतर्फ अघि बढ्ने उद्देश्य राखिए पनि तत्कालका लागि यो वार्ता आंशिक युद्धविराममा केन्द्रित रहेको जनाइएको छ ।
ऊर्जा संरचनाका साथै ब्ल्याक सीमा सामुद्रिक युद्धविरामका लागि सहमति जुटाउन अमेरिकी पक्षले प्रयास गर्ने बताइएको छ । यस्तै दुवै पक्षबीच रूस र युक्रेनबीच नियन्त्रण रेखा "लाइन अफ कन्ट्रोल"का सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।
अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक एन्ड्र्यु पीक र विदेश मन्त्रालयका वरिष्ठ अधिकारी माइकल एन्टोनले गरिरहनु भएको रोयटर्सले जनाएको छ ।
यस्तै रूसी पक्षबाट संसदको माथिल्लो सदनको विदेश मामिला समितिका अध्यक्ष ग्रिगोरी कारासिनका साथै रूसी संघीय सुरक्षा सेवा "एफएसबी"का निर्देशकका सल्लाहकार सेर्गेइ बेसेडाले गरिरहनुभएको छ ।
रियाद पुगेको युक्रेनी प्रतिनिधिमण्डलसँग अमेरिकी प्रतिनिधिमण्डलले गए राति नै रियादमा बेग्लै वार्ता गरिसकेको छ । वार्ता फलदायी र केन्द्रिकृत रहेको तथा ऊर्जा लगायतका महत्त्वपूर्ण कुरामा छलफल भएको युक्रेनी प्रतिनिधिमण्डलका नेता तथा रक्षामन्त्री रुस्तम उमेरोभले बताउनु भएको छ । युक्रेनी प्रतिनिधिमण्डमा युक्रेनी उपविदेशमन्त्रीका साथै राष्ट्रपति कार्यालयका उपप्रमुख र उर्जा मन्त्रालयका उपमन्त्री संलग्न छन् । रूसी र युक्रेनी प्रतिनिधिमण्डलबीच प्रत्यक्ष वार्ता भने नहुने बताइएको छ ।
गत मंगलबार अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँग भएको टेलिफोन वार्तामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जल, थल र हवाई तीनै क्षेत्रमा ३० दिनका लागि समग्र युद्धविराम गर्ने अमेरिकी प्रस्तावप्रति असहमति जनाए पनि ऊर्जा संरचनामा आक्रमण नगर्ने गरी सीमित युद्धविराम गर्न सहमति जनाउनु भएको थियो । त्यसको अर्कोदिन ट्रम्पसँग भएको टेलिफोन वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि सीमित युद्धविरामप्रति सहमति जनाउनुभएको थियो ।