काठमाडौं । गाजाको दक्षिणी सहर खान युनिसमा इजरायलको हवाई आक्रमणमा परी हमासका वरिष्ठ नेता सलाह अल-बर्दावीलको मृत्यु भएको छ ।
आक्रमणमा राजनीतिक कार्यदलका नेता अल-बर्दावीलसँगै उनकी पत्नीसमेत मारिएको हमासका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इजरायलले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
युद्धविराम उल्लंघन गरेको आरोपमा इजरायलले गत मंगलबारदेखि गाजामा आक्रमण गरिरहेको छ । हमास र इजरायलबीच गत जनवरी १९ देखि युद्धविराम सम्झौता लागू भएको थियो । हमासले भने इजरायली आरोपहरुको अस्वीकार गर्दै आएको छ ।
उसले कतार, इजिप्ट र अमेरिकाले मध्यस्थतामा भएको युद्धविरामको उल्लंघन इजरायलले नै गरेको आरोप लगाउँदै आएको छ । गाजामा इजरायलको पछिल्लो आक्रमणमा ३२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी १२ सय जनाको हत्या गरेयता इजरायलको प्रत्याक्रमणमा गाजामा ४९ हजार पाँच सय जनाको मृत्यु भइसकेको छ ।