हिजबुल्लाहलक्षित पुनः इजरायलको आक्रमण सुरू

चैत्र १०, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
हिजबुल्लाहलक्षित पुनः इजरायलको आक्रमण सुरू

काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहलक्षित भीषण आक्रमण सुरू गरेको छ ।

गत नोभेम्बरमा संघर्षविराम सम्झौता भएयता लेबनानी भूमिबाट पहिलोपटक क्षेप्यास्त्र आक्रमण भएपछि इजरायलले प्रत्युत्तरमा हमला सुरू गरेको हो । दक्षिणी लेबनानमा हिजबुल्लाहको केन्द्रलाई लक्षित गर्दै हवाई र क्षेप्यास्त्र आक्रमण गरेको इजरायली सेनाले जनाएको छ । 

आक्रमणमा सात जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा एक जना बालकसमेत छन् । ४० जना घाइते भएका छन् ।

इजरायली सेनाले हिजबुल्लाहको कमान्ड केन्द्र, पूर्वाधार र हतियार भण्डारणलाई लक्षित गर्दै आक्रमण तीब्र पारेको छ । हिजबुल्लाहको आक्रमणमा इजरायलतर्फ भने भने कुनै क्षति नभएको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

हिज्बुल्लाहले भने आफूले रकेट प्रहार नगरेको दाबी गर्दै संघर्षविराममा प्रतिबद्ध रहेको जनाएको छ । लेबनानमा हिजबुल्लाह र इरान समर्थित समूहले विभिन्न गतिविध गर्दै आएका छन् ।

यो घटनासँगै संघर्षविराम सम्झौता भंग हुने चिन्ता बढाएको छ । लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेना युनिफिलले हिंसाको सम्भावित वृद्धिबाट चिन्तित भएको जनाएको छ । युनिफिलले दुवै पक्षलाई आफ्ना प्रतिबद्धताहरु पालना गर्न आह्वानसमेत गरेको छ ।