काठमाडौं । हमाससँगको युद्धविराम भंग गर्दै गाजामा भिषण हवाई आक्रमण गरिरहेको इजरायलले दक्षिणी लेबनानमा पनि हवाई आक्रमण थालेको छ ।
लेबनानतर्फबाट उत्तरी इजरायलमा ५ वटा रकेट आक्रमण भएपछि त्यसको जवाफमा आक्रमण गरिएको इजरायलले जनाएको छ । इजरायलले दक्षिणी लेबनानस्थित हिजबुल्लाहका दर्जनौं केन्द्रलक्षित हवाई आक्रमण गरेको अल जजिराले जनाएको छ । उत्तरी इजरायलमा भएको आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन ।
इजरायली आक्रमणबाट लेबनानको सीमावर्ती ताउलिन गाउँमा एक जनाको मृत्यु हुनाको साथै ३ जना घाइते भएका छन् ।
यसैबीच, लेबनानस्थित राष्ट्रसंघीय शान्ति मिसन-युनिफिलले इजरायल र लेबनानबीचको अवस्था अत्यन्तै नाजुक रहेको उल्लेख गर्दै यसले हिजबुल्लाहसँगको युद्धविराम सम्झौता भंग हुन सक्ने चिन्ता व्यक्त गरेको छ । युनिफिलले सीमा क्षेत्रमा भइरहेका हिंसाले गम्भीर परिणाम निम्त्याउने चेतावनीसमेत दिएको छ ।
उता, इजरायलले गाजामा मंगलबारदेखि थालेको हवाई आक्रमणमा ६ सय ३४ जनाको मृत्यु र ११ सय ७२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै सन् २०२३ को अक्टोबर ७ यता इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ४९ हजार ७ सय ४७ पुगेको छ । यस्तै, शुक्रबारसम्म गाजाबाट १ लाख २० हजार मानिस विस्थापित भएका छन् ।