काठमाडौं । फिनल्यान्डले लगातार आठौं वर्ष विश्वको सबैभन्दा खुशी देशको उपाधि सुरक्षित राख्न सफल भएको छ । विश्व खुशी प्रतिवेदन २०२५ को सूचीमा फिनल्यान्ड पहिलो नम्बरमा कायम रहिरहँदा अफगानिस्तान भने सबैभन्दा पुछार अर्थात् १४७ औं स्थानमा रहेको छ ।
डेनमार्क, आइसल्यान्ड, स्वीडेन र नेदरल्यान्ड्स क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । नेपाल भने सूचीको ९२ औं स्थानमा छ । अघिल्लो वर्ष नेपाल ९३ औं स्थानमा थियो । छिमेकी चीन र भारत क्रमशः ६८ र ११८ औं स्थानमा छन् भने संयुक्त राज्य अमेरिका २४ औं स्थानमा छ ।
जारी गाजा युद्ध र राजनीतिक हलचलका बीच अघिल्लो वर्षभन्दा जम्मा तीन तह तल ओर्लँदै इजरायल आठौं स्थानमा रहेको छ । यस्तै युद्धग्रस्त युक्रेन १११ औं र रूस ६६ औं स्थानमा छ । दक्षिण एसियाली देश भुटानलाई भने यस पटक पनि सर्वेक्षणमा सहभागी गराइएको छैन ।
देशको राष्ट्रिय खुशी मापनका लागि सामाजिक सहयोग, आम्दानी, स्वास्थ्य, स्वतन्त्रता, उदारता र भ्रष्टाचार रहित समाज जस्ता मापदण्डलाई आधार बनाइएको थियो ।
१४७ देश र क्षेत्रका मानिसलाई आफनो जीवनलाई शून्यदेखि १० नम्बरसम्म स्वमूल्यांकन गर्न भनिएको र राष्ट्रिय खुशीको श्रेणी निर्धारणका लागि सन् २०२२ देखि २०२४ सम्मको तीन वर्षको परिणामको औसत निकालिएको जनाइएको छ ।
विश्व खुशी प्रतिवेदनका सम्पादक तथा अक्सफोर्ड यूनिभर्सिटीमा अर्थशास्त्रका प्राध्यापक जान इम्यानुएल डि नेभे, प्रतिव्यक्ति आय, सम्पत्तिको वितरण, मनोवैज्ञानिक स्थायित्व र स्वस्थ जीवनको सम्भाव्यता प्रदान गर्ने कल्याणकारी राज्य लगायतका तत्त्वले मानिसको सुखमा योगदान पुर्याउने बताउनुहुन्छ ।
नेभेले यसवर्षको विश्व खुशी प्रतिवेदन 'हेरचाह र साझेदारी' भन्ने थिममा केन्द्रित रहेको र अरूसँग भोजनको साझेदारी गर्नु वैश्विक स्तरमै मानिसको सुखसँग दरिलो रूपमा अन्तरसम्बन्धित रहेको पाइएको बताउनुभयो ।
संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यका साथ सन् २०१२ देखि विश्व खुशी प्रतिवेदन सार्वजनिक गर्न थालिएको हो । अक्सफोर्ड विश्वविद्यालय नेतृत्वको एउटा विश्वस्तरीय टोलीले अमेरिकी बजार अनुसन्धान कम्पनी ग्यालपद्वारा संकलित तथ्यांकको विश्लेषण गरी यो प्रतिवेदन जारी गर्ने गर्दछ । प्रत्येक वर्ष संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय खुशी दिवस २० मार्चमा विश्वखुशी प्रतिवेदन सार्वजनिक गर्ने गरिन्छ ।