काठमाडौं । टर्किएका अधिकारीहरूले राष्ट्रपति रिसेप तैयप इर्दोआनका मुख्य राजनीतिक प्रतिस्पर्धी तथा इस्तानबुल शहरका लोकप्रिय मेयर इक्रेम इमामोग्लुलाई भ्रष्टाचार र आतंकवादी समूहलाई सघाएको आरोपमा गिरफ्तार गरेका छन् ।
प्रमुख विपक्षी दलले भने उनको गिरफ्तारीलाई "हाम्रो भावी राष्ट्रपतिविरुद्धको कू" भन्दै कटु आलोचना गरेको छ । इमामोग्लुको गिरफतारीसँगै विपक्षी नेताहरूविरुद्ध एक महिनादेखि जारी कानुनी दमन चरम बिन्दुमा पुगेको टिप्पणी गरिएको छ । सरकारले भने न्यायपालिका स्वतन्त्र रहेको भन्दै विपक्षीको आरोपको खण्डन गरेको छ । इमामोग्लुको गिरफ्तारीसँगै टर्किएको मुद्रा लिराको मूल्यमा डलरको तुलनामा १२ प्रतिशतले गिरावट आएको रोयटर्सले उल्लेख गरेको छ ।
केही मत सर्वेक्षणमा राष्ट्रपति इर्दोआनभन्दा बढी रुचाइएका ५४ वर्षीय इमामोग्लुविरुद्ध आपराधिक संगठनको नेतृत्व गरेको, घुस र ठेक्कामा ठगी गरेको जस्ता आरोप लगाइएको छ । यसैबीच सामाजिक सञ्जालमा पोस्ट गरिएको गिरफ्तारी अघिको एक भिडियोमा इमामोग्लुले आफूले हार नमान्ने र कुनै पनि दबाबको डटेर सामना गर्ने बताउनुभएको छ ।
टर्किएको मुख्य विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी सीएचपीले केही दिनभित्रै इमामोग्लुलाई राष्ट्रपति पदका लागि आफ्नो आधिकारिक उम्मेदवार घोषणा गर्ने तयारी गरेको थियो ।
टर्किएमा राष्ट्रपति पदका लागि २०२८ मा निर्वाचन हुनु पर्नेछ । तर इर्दोवानले दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने आफ्नो सीमा पूरा गरिसक्नु भएको छ । यदि उहाँले पुनः राष्ट्रपति हुने चाहना गर्ने हो भने आफ्नो वर्तमान कार्यकाल सकिनु अगावै राष्ट्रपतीय निर्वाचन गराउनुपर्ने वा संविधानमा संशोधन गर्नु पर्ने रोयटर्सले टिप्पणी गरेको छ ।
गत वर्ष भएको देशव्यापी नगरपालिकास्तरीय निर्वाचनमा राष्ट्रपति इर्दोआनको दल एके पार्टीले इमामोग्लुको सीएचपी पार्टी समक्ष अहिलेसम्मकै खराब पराजय भोग्नुपरेको थियो ।