महायज्ञको नाममा दलितको घर भत्काइएको भन्दै सरकारलाई सांसदहरुको ध्यानाकर्षण

जातीय विभेदको प्रमुख नमूना भएको भन्दै आवश्यक छानविन गरी दोषीलाई कारबाही गर्न माग
चैत्र ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
महायज्ञको नाममा दलितको घर भत्काइएको भन्दै सरकारलाई सांसदहरुको ध्यानाकर्षण

काठमाडौं । सिरहाको ओरही गाउँपालिका-५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काइएको घटनाको विषय राष्ट्रिय सभामा उठेको छ ।

आजको बैठकको शुन्य समयमा बोल्ने सांसदहरूले उक्त घटना जातीय विभेद र छुवाछुतको प्रमुख नमूना भएको भन्दै आवश्यक छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

सो घट्नामा गाउँपालिका अध्यक्ष शिवजी यादव र विष्णु महायज्ञका आयोजक भनिएका बजरंगी बाबालाई कारबाही गर्न सांसदहरुको माग समेत गरेका छन् । नेकपा (एकीकृत समाजवादी)की सांसद गोमादेवी तिमिल्सिनाले उक्त विभेदको घटनाको नेतृत्व गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग गर्नुभयो ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले उक्त घट्नाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

यस्तै राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले समेत उक्त घट्ना निन्दनीय भएको भन्दै छानविन गरी दोषीलाई कानूनको दायरामा ल्याउन माग गर्नुभयो । समाजमा विद्यमान जातीय छुवाछुत अन्त्यका लागि सबैले एकजुट हुन जरूरी रहेको उहाँले बताउनु भयो ।

बैठकमा बोल्ने प्रायः सबै सांसदहरूले उक्त घटनाबारे सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । नेपाल जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दुई दशक हुन लाग्दा पनि दलित भएकै कारण बस्ती उठाउनु अमानवीय कार्य भएको उनीहरूले उल्लेख गरे । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.