काठमाडौं । दुई अन्तरिक्ष यात्रु सुनिता विलियम्स र ब्यारी विल्मोर अन्ततः पृथ्वी फर्किएका छन् ।
विगत नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र-आइएसएसमा रोकिएका दुई अन्तरिक्ष यात्रु लामो प्रयासपछि पृथ्वीमा फर्किएका हुन् ।
एलोन मस्कको कम्पनी स्पेस एक्सको अन्तरिक्ष यान ‘क्रु ड्रागन’ले अन्तरिक्ष यात्रु सुनिता विलियम्स र ब्यारी विल्मोर पृथ्वीमा फिर्ता ल्याएको हो ।
दुई अन्तरिक्ष यात्रुलाई बोकेको स्पेस एक्सको अन्तरिक्ष यान अमेरिकाको फ्लोरिडास्थित तटीय क्षेत्रमा अवतरण गराइएको बीबीसीले जनाएको छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा यसअघि सुनिता विलियम्स र ब्यारी विल्मोरका साथै नासाका निक हेग र रूसका अलेक्सान्डर गोर्बुनोभ समेत गरी चार जना अन्तरिक्ष यात्रु रहेका थिए ।
यसमध्ये विलियम्स र विल्मोर जम्मा ८ दिनका लागि भनेर त्यहाँ गएपनि उनीहरूलाई लिएर गएको बोइङको ‘स्टारलाइनर’ अन्तरिक्ष यानमा प्राविधिक खराबी देखिएपछि पृथ्वीतर्फ फर्किन नपाएर विगत नौ महिनाभन्दा बढी समयदेखि उनीहरू त्यहीँ बस्नु परेको थियो ।
उनीहरू २०२४ को जुनको सुरुतिर त्यहाँ पुगेका थिए ।