काठमाडौं । युक्रेन शान्ति सम्झौताका धेरै पक्षमा रुस सहमत भएको अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले बताउनुभएको छ । युद्ध अन्त्यबारे रुसी राष्ट्रपति पुटिनसँग हुन लागेको टेलिफोन वार्ताअघि ट्रम्पले उक्त दाबी गर्नुभएको हो ।
शान्ति सम्झौताका पक्षहरुमा रुस सहमत भए पनि थप काम गर्न बाँकी रहेको ट्रम्पको भनाइ छ । ट्रुथ सोसलमा ट्रम्पले हरेक हप्ता २५ सय जना रुसी र युक्रेनी सैनिकहरुको मृत्यु हुने भन्दै दुवै पक्षले तत्काल युद्ध रोक्नुपर्ने उल्लेख गर्नुभएको छ ।
यसअघि पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले युद्धविराम र शान्तिका लागि आफूहरुको प्रयास सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो । यस्तै, ह्वाइट हाउसका प्रेस सचिव करोलिन लेविटले राष्ट्रपति ट्रम्प "शान्ति सम्झौतामा पुग्न दृढ" रहेको बताउनुभएको छ ।
युद्धविरामका लागि जमिन, ऊर्जा केन्द्र र दुवै मुलुकका केही सम्पत्ति विभाजन गर्न सकिने प्रस्ताव अमेरिकाको छ । साउदी अरबमा अमेरिकासँगको वार्तामा तीस दिने युद्धविरामको प्रस्तावमा सकारात्मक युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पुटिनमाथि युद्ध लम्ब्याउन खोजेको आरोप लगाउनुभएको थियो ।
मस्कोले भने युद्धविरामको समर्थन गरे पनि आफ्ना सर्तहरु अघि सारेको छ । जसमा आफूले कब्जा गरेका भूमिदेखि युक्रेन नेटोमा सहभागी नहुने सुनिश्चितता चाहन्छ ।