काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले तत्काल पूर्ण रुपमा युक्रेन युद्ध अन्त्य गर्न अस्वीकार गर्नुभएको छ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच भएको फोनवार्तामा पुटिन युक्रेन युद्ध अन्त्य गर्न अस्वीकार गर्नुभएको बीबीसीले जनाएको छ ।
तर, ट्रम्पसँगको फोनवार्ताको क्रममा भने पुटिनले युक्रेनको उर्जा केन्द्र र पूर्वाधारलक्षित आक्रमण नगर्ने विषयमा सहमति जनाउनुभएको बीबीसीले जनाएको छ ।
यस्तै, साउदी अरबमा ट्रम्पका प्रतिनिधिसँग युक्रेनी पक्षबीच एक महिने युद्ध विरामको प्रस्तावमा समेत हस्ताक्षर नगर्ने पुटिनले स्पष्ट पार्नुभएको बीबीसीमा उल्लेख गरिएको छ ।
युक्रेनी पक्षलाई विदेशी पक्षले दिँदै आएको सैन्य सहायता र खुफिया जानकारी साझा नगरे मात्र युद्ध विराम अन्त्य हुने विषय अघि बढ्न सक्ने पुटिनले आश्वासन दिनुभएको बताइएको छ।
युक्रेनका युरोपेली संघ साझेदारहरुले पुटिनको उक्त प्रस्तावलाई भने यसअघि नै अस्वीकार गरिसकेको छ ।
फोनवार्ताको क्रममा अगामी दिनमा मध्यपूर्वमा शान्ति वार्ताका लागि तत्काल वार्ता गर्न ट्रम्प र पुटिनले सहमति जनाएको बीबीसीले जनाएको छ ।
यसअघि भने अमेरिकी डेलिगेट र युक्रेनी पक्षबीच जेदाहमा भएको छलफलमा युक्रेन ३० दिने युद्ध विरामको प्रस्तावमा सहमति जनाएको थियो ।
युक्रेनको उर्जा केन्द्र लक्षित आक्रमण नगर्ने पुटिनले सहमति जनाएको विषयमा युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले समेत प्रशंसा गर्नुभएको छ । तर, यसका लागि विस्तृत जानकारी चाहेको समेत उहाँले स्पष्ट पार्नुभएको छ ।
यस्तै फोनवार्तापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत पुटिनसँगको फोनवार्ता सकारात्मक र फलदायी भएको उल्लेख गर्नुभएको छ ।
यसैबीच युद्ध लड्न युक्रेनलाई विदेशी पक्षले दिँदै आएको सहयोग रोकिनु नै रुसको मुख्य सर्त रहेको एक मात्र क्रेमलिनले एक विज्ञप्तिमार्फत उल्लेख गर्दै युद्ध अन्त्य गर्ने प्रस्ताव स्थीर, दिर्घकालीन हुनु पर्नेमा जोड दिएको छ ।