खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमको गणेशटारस्थित तेर्सालुङ सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा ६ घर जलेर नष्ट भएका छन् ।
इलाका प्रहरी कार्यालय हलेसी, नगर प्रहरी र स्थानीयवासीको सहयोगमा गाउँको चारैतिरबाट फैलिएको डढेलो राति अबेर नियन्त्रणमा लिन सफल भएको नगर प्रवक्ता कमल गिरीले बताउनुभएको छ ।
आगलागीमा मानवीय क्षति भएको छैन । घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका पीडित परिवारहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उहाँको भनाई छ ।
गाउँ पसेको डढेलो नियन्त्रणमा आएपनि सामुदायिक वनमा भने नियन्त्रण बाहिर रहेको जनाइएको छ ।
सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा चुमाखुका घनश्याम राई, दाप्सामाका पूर्णबहादुर राई र गणेशटारका जगबहादुर राई, रुङकाडोका रणबहादुर राई तथा चुमाखुकै वीरगञ्ज राई र दिलकुममारी राईको मटान जलेर जलेर नष्ट भएको हो ।
सुनकोशी किनारबाट शुरू भएको डढेलो तेर्सालुङ सामुदायिक वन हुँदै गाउँ पस्दा हिजो बेलुका दुर्छिमका विभिन्न गाउँ तथा वस्तीमा छिर्न थालेपछि स्थानीयवासीको भागाभाग चलेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सामुदायिक वनमा लागेको डढेलो सुख्खाग्रस्त क्षेत्रमा पर्ने दुर्छिममा डढेलोबाट आगलागी भएको समयमा हुरिबतास चलिरहेकाले ठूलो क्षति भएको छ ।
वनमा लागेको डढेलोले करोडौँ मूल्यको जडीबुटी, काठपात, जङ्गली जनावर तथा चराचुरुङ्गीमा समेत क्षति पुगेको छ । आगलागीमा भएको क्षतिको विवरण भने आउन बाँकी छ ।