युक्रेनको सुरक्षा सुनिश्चितताका लागि अमेरिकालाई अस्ट्रेलिया, क्यानडा सहित युरोपेली मुलुकको दबाब

पुटिन ढिलोचाँडो वार्ताको टेबलमा आउनुपर्ने बेलायती प्रधानमन्त्री स्टार्मरको भनाइ
चैत्र २, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
युक्रेनको सुरक्षा सुनिश्चितताका लागि अमेरिकालाई अस्ट्रेलिया, क्यानडा सहित युरोपेली मुलुकको दबाब

काठमाडौं । बेलायती प्रधानमन्त्री केइर स्टार्मरले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ढिलोचाँडो वार्ताको टेबलमा आउनुपर्ने बताउनुभएको छ । रूस-युक्रेन युद्धबारे बेलायतद्वारा आज आयोजित भर्चुअल शिखर सम्मेलनमा स्टार्मरले विश्व नेताहरूले सम्भावित युक्रेन शान्ति सम्झौताको रक्षा गर्न तयार हुनुपर्ने बताउनुभयो । 

उहाँले युक्रेनलाई अझै बढी समर्थन गर्न र रूसमाथि दबाब बढाउन पनि आह्वान गर्नुभएको छ । भविष्यमा युक्रेनको सु्रक्षा सुनिश्चित गर्न अमेरिकालाई दबाब दिने उद्देश्यले आयोजित सम्मेलनमा युरोपेली मुलुकका अतिरिक्त युरोपेली संघ, नेटो, युक्रेन, अस्ट्रेलिया तथा क्यानडा सहितका २६ नेता सहभागी थिए ।

यसअघि स्टार्मरले पुटिनलाई अमेरिकाद्वारा प्रस्तावित युद्धविराम सम्झौतामाथि खेल खेल्ने अनुमति दिन नसकिने बताउनुभएको थियो । उहाँले रूसी नेताहरूले सम्झौतामा ढिलाइ गर्ने प्रयास गरेको आरोप पनि लगाउनुभएको छ । सम्मेलनमा रोक्का गरिएका रूसी सम्पत्तिको भविष्य तथा तात्कालीन र दीर्घकालीन रूपमा युक्रेनको सैन्य क्षमता बढाउने विषयमा समेत छलफल भएको बीबीसीले जनाएको छ ।

यता, रूस र युक्रेनबीच संघर्ष जारी छ । रूसी रक्षा मन्त्रालयले पश्चिमी कुर्स्क क्षेत्रका दुई वटा गाउँ युक्रेनी सेनाबाट फिर्ता लिएको दाबी गरेको छ । उक्त क्षेत्रलाई गत अगष्टमा युक्रेनले कब्जामा लिएको थियो । यसका साथै युक्रेनका १२६ वटा ड्रोन आक्रमणलाई निस्तेज तुल्याएको पनि रूसले जनाएको छ ।

रूसले गरेको मिसाइल आक्रमणमा २ बालबालिका सहित १४ जना भएको बीबीसीले जनाएको छ । यता, युक्रेनले पनि रूसद्वारा प्रहार गरिएका १७८ मध्ये १३० ड्रोन खसालेको दाबी गरेको छ ।



Enter Kantipur TV HD
Advertisement