नौ महिनादेखि अन्तरिक्षमा रोकिएका यात्रु फिर्ता ल्याउन स्पेस एक्सको यान आईएसएसमा

यानमा गएका चार यात्रु भने अनुसन्धानका लागि अन्तरिक्षमै बस्ने
चैत्र ३, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
नौ महिनादेखि अन्तरिक्षमा रोकिएका यात्रु फिर्ता ल्याउन स्पेस एक्सको यान आईएसएसमा

काठमाडौं । दुई अन्तरिक्ष यात्रु सुनिता विलियम्स र ब्यारी विल्मोरलाई पृथ्वीमा फिर्ता ल्याउनका लागि स्पेस एक्सको अन्तरिक्ष यान चार जना अन्तरिक्ष यात्रु लिएर अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएस पुगेको छ । सुनिता र ब्यारी विगत ९ महिनादेखि आईएसएसमा रोकिएका छन् ।

नयाँ अन्तरिक्ष यात्रु लिएर आएको स्पेस एक्सको अन्तरिक्ष यान ‘क्रु ड्रेगन’ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएससँग जोडिएको छ भने यसमा रहेका चारै जना अन्तरिक्ष यात्रु आईएसएसभित्र प्रवेश गरेका छन् । अब आईएसएसभित्र कुल आठ जना अन्तरिक्ष यात्रु रहेका छन् । नयाँ गएका चार अन्तरिक्ष यात्रुमध्ये दुई जना अमेरिकाका, एक जना जापानका र एक जना रूसका छन् । नयाँ पुगेका चार अन्तरिक्ष यात्रुले त्यहाँ रहेका चार जनालाई प्रतिस्थापन गर्नेछन् ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा यसअघि सुनिता विलियम्स र ब्यारी विल्मोरका साथै नासाका निक हेग र रूसका अलेक्सान्डर गोर्बुनोभ समेत गरी चार जना अन्तरिक्ष यात्रु रहेका थिए । यसमध्ये विलियम्स र विल्मोर जम्मा ८ दिनका लागि भनेर त्यहाँ गए पनि उनीहरूलाई लिएर गएको बोइङको ‘स्टारलाइनर’ अन्तरिक्ष यानमा खराबी देखिएपछि पृथ्वीतर्फ फर्किन नपाएर विगत नौ महिनाभन्दा बढी समयदेखि उनीहरू त्यहीँ बस्नु परेको थियो । 

उनीहरू २०२४ को जुनको सुरुतिर त्यहाँ पुगेका थिए । चार नयाँ अन्तरिक्ष यात्रु आईएसएसमा पुगेसँगै पुराना सबै चार जना अन्तरिक्ष यात्री नयाँलाई आफ्नो काम जिम्मा लगाएर स्पेस एक्सको क्रु ड्रेगनबाटै यसै साता पृथ्वीमा फर्किनेछन् ।

नयाँ पुगेका अन्तरिक्ष यात्रुलाई जिम्मेवारी हस्तान्तरण गर्न दुई दिनको समय लाग्ने र त्यसपछि मात्रै पुराना अन्तरिक्ष यात्री पृथ्वीतर्फ फर्किने बताइएको छ । तर स्पेस एक्सको क्याप्सुलको सुरक्षित फिर्तिका लागि पृथ्वीको मौसम उपयुक्त हुनु पर्ने र यसका कारण फिर्ती यात्राको समय थोरै लम्बिन सक्ने आईएसएस कार्यक्रमका म्यानेजर डाना वेगेलले बताउनुभएको छ ।

बोइङ र इलोन मस्कको स्पेस एक्स एक अर्काका प्रतिस्पर्धी अन्तरिक्ष कम्पनीहरू हुन् । आफूले लिएर गएका अन्तरिक्ष यात्रुलाई स्पेस एक्सको अन्तरिक्ष यानमा फर्काउनु लज्जाजनक हुने भन्दै बोइङले स्टारलाइनरमै उनीहरूलाई फिर्ता ल्याउनु पर्नेमा निरन्तर तर्क गर्दै आएको थियो । तर नासाले भने सानो जोखिम पनि नलिने भन्दै उनीहरूलाई बोइङको स्टारलाइनरमा फिर्ता पठाउन अस्वीकार गरेको थियो ।



Enter Kantipur TV HD
Advertisement