प्रधानमन्त्री कप : आर्मीको अपराजित यात्रामा पूर्णविराम, मधेश प्रदेशसँग ३ विकेटले पराजित

चैत्र ६, २०८१ |खेल ब्युरो
प्रधानमन्त्री कप : आर्मीको अपराजित यात्रामा पूर्णविराम, मधेश प्रदेशसँग ३ विकेटले पराजित

काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको अपराजित यात्रामा मधेश प्रदेशले पूर्णविराम लगाइदिएको छ। मधेशले, आर्मीलाई तीन विकेटले पराजित गरेको हो ।

दाङको लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले सात विकेट क्षतिमा २१७ रन बनाएको थियो । आर्मीको लागि तृतराज दाशले १४ रन मात्रै बनाएको भए पनि सन्तोष कार्की र भीम सार्कीले लामो साझेदारी गरे। व्यक्तिगत ३३ रन बनाएर सन्तोष आउट हुँदा आर्मीले ९३ रन पार गरेको थियो । भीमले १२६ बल खेल्दै ८९ रन जोडे । त्यसपछि विनोद भण्डारी ११, बसिर अहमद १० र विवेक यादव १६ रनमा आउट भएपछि आर्मीलाई ठूलो लक्ष्यमा पुग्न कठिन भएको थियो । अन्तिममा कुशल मल्लले २० बलमा २४ रनको योगदान गरेका थिए । मधेशका लागि रुपेश सिंह, कमल गुप्ता र पवन सर्राफले समान २-२ विकेट लिए।

जवाफमा मधेशले दुई विकेट बाँकी रहँदै २१९ रनको लक्ष्य पूरा गरेको थियो । ओपनर मयन यादव र शैलेन्द्र शाह सस्तैमा समेटिएको भए पनि कप्तान अनिल शाहले ४५ रनको पारी खेले । मध्यक्रममा हरिशंकर शाह र पवन सर्राफले समान ३७-३७ रन बनाएका थिए । अन्तिममा निखिल सिंहले १४ र रूपेश सिंहले आक्रामक ३८ रन जोडेपछि मधेशले लक्ष्य पूरा गरेको हो । 

रूपेशले २० बलमा दुई छक्का र २ चौका सहित ३८ रन जोडेका हुन् । आर्मीका नरेन साउदले तीन विकेट लिए भने सोमपाल कामी र बसिरले दुई-दुई विकेट आफ्नो नाम गरेका हुन् । यससँगै आर्मी क्लब शीर्षस्थानको पुलिसभन्दा दुई अंकले पछि परेको छ । आर्मीले ६ खेलबाट १० अंक जोडेको छ। मधेशले पाँच खेलबाट ४ अंक बनाएको छ ।



Enter Kantipur TV HD
Advertisement