काठमाडौं । मार्क कार्नीले क्यानाडाका नयाँ प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गर्नुभएको छ । अर्थशास्त्री कार्नी राजनीतिमा प्रवेश गरेको केही दिनमै लिबरल पार्टीको नेता चुनिएर क्यानडाको प्रधानमन्त्री बन्नुभएको हो ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँगको व्यापार युद्धको बीचमा क्यानडाका प्रधानमन्त्री बनेका कार्नीले नौ वर्षदेखि प्रधानमन्त्री जस्टिन ट्रुडोलाई प्रतिस्थापित गर्नुभएको हो ।
अमेरिकासँगको व्यापार युद्धका कारण क्यानाडाको राजनीति पछिल्लो समय धेरै प्रभावित छ । आगामी निर्वाचनमा समेत कार्नीले ट्रम्पसँग जुध्न सक्षम उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गर्न अपेक्षा गरिएको छ।
यसैबीच नवनियुक्त प्रधानमन्त्री कार्नीले ट्रम्पसँग कुरा गर्न आफू उत्सुक रहेको बताउनुभएको छ तर उहाँले कुनै पनि हालतमा आफ्नो देश अमेरिकाको राज्य नहुने प्रष्ट पार्नुभएको छ ।
अमेरिकाले क्यानडाको उत्पादनमा लगाएको अतिरिक्त कर नहटाउँदानसम्म त्यसको जवाफमा आफ्नो मुलुकले पनि अमेरिकी उत्पादनमा लगाएको कर कायमै राख्ने चेतावनी पनि उहाँले दिनुभएको छ। तर अर्थशास्त्रीहरूले ट्रम्पको कर नीति पूर्ण रूपमा लागु भएमा क्यानाडामा मन्दीको जोखिम बढ्नसक्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो निर्णयमा, कार्नीले उपभोक्ता कार्बन मूल्य निर्धारण कार्यक्रमलाई समाप्त गर्नुभएको छ।यो कार्यक्रम निवर्तमान प्रधानमन्त्री ट्रुडोको प्रमुख वातावरणीय नीतिमध्ये एक थियो ।
कार्नीले क्याबिनेट बैठकमा जलवायु परिवर्तनसँग लड्न कदम चाल्ने र ठूला उत्सर्जकहरूको लागि औद्योगिक कार्बन कर जारी राखिने बताउनुभएको छ । यसैबीच कार्नीको पहिलो विदेशयात्रा आगामी साता बेलायत र फ्रान्समा हुने अपेक्षा गरिएको छ।