काठमाडौं । सिरियामा अपदस्थ राष्ट्रपति बसर अल–असद निकट लडाकु समूह र सरकारी सैन्य बलबीचको झपडपमा अहिलेसम्म १ सय ३० जनाको मृत्यु भएको छ ।
विद्रोही समूह हयात तहरीर अल–शाम–एच-टी-एसले सत्ता कब्जा गरेपछि पहिलो पटक असदको समूह र सरकारी सैन्य बलबीच झडप भएको हो । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार पश्चिमी सिरियाको तटीय क्षेत्रमा तीन दिनदेखि हिंसा जारी छ । उक्त क्षेत्रमा अल्पसंख्यक अलावी समुदायका मानिसहरुको बसोबास छ । विद्रोह दबाउन सिरियाली सैन्य बललाई अलेप्पोबाट काफिला तटीय क्षेत्रतर्फ पठाइएको रोयटर्सले जनाएको छ । उक्त क्षेत्रका सर्वसाधारण पनि असुरक्षित भएको बताइएको छ ।
गत बिहीबार पदच्युत राष्ट्रपति असादका समर्थकले सरकारी सेनामाथि घातक हमला गरेपछि हिंसा भड्किएको थियो ।
असद निकट समूहले सिरियाली सरकारविरुद्ध ‘कोस्टल सिल्ड रेजिमेन्ट’ नामक प्रतिरोध समूह गठन गरेको छ । एकछत्र शासन गरेका सिरियाका अपदस्थ राष्ट्रपति असदलाई सत्ताच्यूत गराएका विद्रोही समूहले सिरियामा आफ्नो शासनलाई स्थापित गरिसकेको छ भने केही क्षेत्रमा अझ पनि असदका सेनाको सानो शसस्त्र समूह एचटीएस विरुद्ध लडिरहेका छन् ।