काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका दल र समूहले आज काठमाडौंमा प्रदर्शन गरे । उनीहरूले आजै पोखराबाट काठमाडौं फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारमा स्वागत गर्दै निर्मल निवास पुर्याए ।
प्रदर्शनकारीहरू राष्ट्रिय झण्डा सहित तीनकुने र गौशाला क्षेत्रमा जम्मा भएर विमानस्थलको द्वारमा पुगेका थिए । विमानस्थलबाट बाहिरिने क्रममा ज्ञानेन्द्र शाहले समर्थकलाई अभिवादन गर्दा प्रदर्शनकारीले राजतन्त्रको पक्षमा नाराबाजी समेत गरे । आजै पोखराबाट फर्केका पूर्वराजालाई स्वागत गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेताहरू विमानस्थलको मुख्य द्वारमा पुगेको थिए ।
प्रदर्शनका कारण कोटेश्वरदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गौशाला क्षेत्रको आवागमन अस्तव्यस्त भएको थियो । सडक अवरुद्ध हुँदा विमानस्थल आउने जाने विदेशी पर्यटकले समेत निकै सास्ती खेप्नुपर्यो । करिब ४ बजे काठमाडौं आइपुग्नु भएका पूर्वराजा शाह निर्मल निवास जाने क्रममा चक्रपथ क्षेत्रको सवारी आवागमन प्रभावित पनि भयो ।
प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था भने कडा बनाइएको थियो । सम्भावित अराजक गतिविधि र दुर्घटनालाई लक्षित गरेर करिब २ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार पूर्वराजा शाहको स्वागतका लागि ३५ समूह तथा पार्टीहरू सहभागी भएका थिए ।