काठमाडौं । युरोपेली संघ (ईयू)ले रक्षा खर्च बढाउने निर्णय गरेको छ । बेल्जियमको राजधानी ब्रसेल्समा बसेको ईयूका नेताहरूको आपत्कालीन शिखर सम्मेलनले युरोपेली देशको रक्षा खर्च बढाउने र युक्रेनलाई दिएँदै आएको समर्थन र सहयोग यथावत राख्ने प्रतिबद्धता जनाएको हो ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच गत शुक्रबार ह्वाइट हाउसमा भएको तिक्ततापूर्ण वार्ताका कारण अमेरिकीले युक्रेनलाई दिँदै आएको सैन्य सहायता र गुप्तचर सहयोग साझा गर्ने विषयमा रोक लगाएपछि युक्रेनको पक्षमा युरोपेली मुलुक एकमत भएका हुन् ।
सम्मेलनमा ईयूका सबै २७ सदस्य राष्ट्रका नेता सहित युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की समेत सहभागी हुनुभएको थियो । युरोपेली आयोगका नेताहरूले सम्मेलनमा रक्षा खर्चमा वित्तीय लचिलोपन दिन र युरोपेली संघका सरकारलाई आफ्नो सेनामा खर्च गर्न ऋण दिन संयुक्त रूपमा १५० अर्ब युरोसम्म ऋण लिन यसै साता गरिएको प्रस्तावको प्रशंसा गर्दै समर्थन जनाएका छन् ।
यस्तै ईयूका सबै राष्ट्रले सहमति जनाएको संयुक्त विज्ञप्तिमा, संघका नेताहरूले आफ्ना मन्त्रीलाई ती प्रस्तावको तत्काल विस्तृत रूपमा जाँच गर्न आह्वान समेत गरेको उल्लेख गरिएको छ ।
यस्तै युरोपेली संघका नेताहरूले युक्रेनको पक्षमा समर्थन व्यक्त गरेका छन् । ईयूका २६ नेताले युक्रेनको संलग्नता विना युक्रेन शान्ति वार्ता हुन नसक्ने कुरामा जोड दिएका छन् । तर हंगेरीले भने यसमा समर्थन नगरेको बताइएको छ ।
यसैबीच फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले रूसबाट हुन सक्ने भावी खतराको सामना गर्न यूरोपेली साझेदारलाई फ्रान्सेली परमाणु हतियारको संरक्षणभित्र राख्ने विषयमा यसैवर्षको मध्यतिर छलफल हुने विषयमा जानकारी दिनुभएको छ ।