रूसमाथि थप नयाँ प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी

फाल्गुन २४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
रूसमाथि थप नयाँ प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी

काठमाडौै । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रूसमाथि थप नयाँ प्रतिबन्ध र कर लगाउने विषयमा गम्भीरताका साथ तयारी भइरहेको बताउनुभएको छ।

रूसले युक्रेनमाथि गरेको मिसाइल र ड्रोन आक्रमणलगत्तै ट्रम्पको बयान आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रूसले युक्रेनमा निरन्तर आक्रमण गरिरहेका कारण रूसी बैंकसहित अन्य निकायमा प्रतिबन्ध र नयाँ कर लगाउने तयारी भइरहेको ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जानकारी दिनुभएको रोयटर्सले जनाएको छ ।

यस्तै उहाँले ढिलो हुनु अगावै दुवै पक्षलाई शान्ति वार्तामा आउनसमेत आग्रह गर्नुभएको छ ।

अमेरिका रूसबाट तेल आपूर्ति गर्ने ठूलो साझेदार हो । सन् २०२१ मा मात्रै अमेरिकाले २९ दशमलव ६ अर्ब डलर को तेल रूसबाट आयात गरेको थियो । तर युक्रेन युद्ध सुरु भएपछि अमेरिकाले रूसमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाएपछि दुई देशबीचको तेल आयात शून्यमा झरेको बताइएको छ । तर अझै पनि अमेरिकाले रूसबाट कृषिमल आयात गर्ने गरेको छ ।

यसैबीच ट्रम्पले शान्ति सम्झौता आफूलाई युक्रेनीभन्दा रूसी पक्षसँग सहज हुने गरेको बताउनुभएको छ । यस्तै शान्ति वार्तामा आउन दबाबस्वरूप अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता र गुप्तचर जानकारी साझा गरिने विषयमा रोक लगाएको थियो ।



Enter Kantipur TV HD
Advertisement