काठमाडौं । सिरियामा अपदस्थ राष्ट्रपति बसर अल–असद निकट लडाकू समूह र सरकारी सैन्य बलबीच भएको हिंसात्मक झडपमा २ दिनमा १ हजारभन्दा बढी मारिएका छन् । विद्रोही समूह हयात तहरीर अल–शाम–एच-टी-एसले सत्ता कब्जा गरेपछि पहिलो पटक असदको समूह र सरकारी सैन्य बलबीच हिंसात्मक झडप भएको हो ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार पश्चिमी सिरियाको तटीय क्षेत्र लाटाकिया र टार्टसमा हिंसा जारी छ । मृत्यु हुनेमा सरकारी सुरक्षाकर्मीहरू पनि रहेको बीबीसीले जनाएको छ । उक्त क्षेत्रमा अल्पसंख्यक अलावी समुदायका मानिसहरुको बसोवास छ । विद्रोह दबाउन सिरियाली सैन्य बललाई अलेप्पोबाट तटीय क्षेत्रतर्फ पठाइएको रोयटर्सले जनाएको छ । उक्त क्षेत्रका सर्वसाधारण पनि घर छाडेर भागिरहेका छन् ।
गत बिहीबार पदच्युत राष्ट्रपति असादका समर्थकले सरकारी सेनामाथि घातक हमला गरेपछि हिंसा भड्किएको थियो ।
असद निकट समूहले सिरियाली सरकारविरुद्ध ‘कोस्टल शिल्ड रेजिमेन्ट’ नामक प्रतिरोध समूह गठन गरेको छ । एकछत्र शासन गरेका सिरियाका अपदस्थ राष्ट्रपति असदलाई सत्ताच्युत गराएका विद्रोही समूहले सिरियामा आफ्नो शासनलाई स्थापित गरिसकेको छ भने केही क्षेत्रमा अझ पनि असदसमर्थकहरू एचटीएस विरुद्ध लडिरहेका छन् ।