काठमाडौं । अमेरिका र युक्रेनबीच रुस-युक्रेन युद्ध अन्त्यका विषयमा आगामी मंगलबार साउदी अरबमा वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकोफले साउदी अरबमा वार्ता हुने पुष्टि गर्नुभएको हो ।
अघिल्लो शुक्रबार दुवै देशका राष्ट्रपतिबीच ह्वाइट हाउसमा भएको तिक्ततापूर्ण सम्वाद भएयता पहिलो पटक दुवै देशका प्रतिनिधिविच यो वार्ता हुन लागेको हो । जेलेन्स्कीले आगामी सोमबार आफू पनि साउदी अरब जाने तर वार्तामा स्वयम् भने सहभागी नहुने बताउनुभएको छ । दुई देशबीच हुने वार्तामा दुवै देशका कूटनीतिक प्रतिनिधिहरु सहभागी हुने बताइए पनि कुन स्तरमा वार्ता हुने भन्ने खुलाइएको छैन । युक्रेन युद्ध अन्त्य सम्बन्धमा गत महिना अमेरिका र रुसबीच साउदी अरबमै विदेशमन्त्री स्तरियवार्ता भएको थियो । उक्त वार्तामा आफुहरु कसैलाई पनि सहभागी नगराइएकोमा युक्रेन र यूरोपेली देशहरुले आपत्ति जनाएका थिए ।
जेलेन्स्कीले वार्ता अर्थपूर्ण हुनेमा आफु आशावादी रहेको जनाउँदै किएभले द्रुत र दिगो शान्तिका दिशामा काम गरिरहेको बताउनु भएको छ ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफले युद्ध अन्त्यको प्रारुपका तयार पार्नुका साथै प्रारम्भिक युद्धविराम बारे युक्रेनी पक्षसँग छलफल हुने स्पष्ट पार्नुभएको छ । यसअघि अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले कुनै अन्य विकल्प नभएका कारण रुस र युक्रेन दुवैले शान्ति सम्झौता गर्न चाहेको बताउनु भएको थियो । उता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको दीर्घकालीन सुरक्षा र दिगो विकास सुनिश्चित गर्ने गरी युद्धविराम हुनुपर्ने बताउनुभएको छ ।
ह्वाइट हाउसमा भएको तिक्तापूर्ण वार्तापछि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्का गर्नुका साथै गुप्तचरी सूचना आदान प्रदान पनि स्थगित गरेको छ । अमेरिकाले यूरोपको सुरक्षा प्रत्याभूति नगर्ने खतरा बढेपछि ब्रसेल्समा बिहीबार इयूको आपतकालिन बैठक बसेको थियो । बैठकमा यूरोपेली देशहरुले आफ्नो रक्षा खर्च बढाउने र युक्रेनप्रतिको समर्थन जारी राख्ने प्रतिबद्धता जनाएका थिए । जेलेन्स्कीसमेत उक्त शिखर बैठकमा सहभागी हुनुहुन्थ्यो ।
युद्धविराम भए अमेरिकाले युक्रेनको सुरक्षा प्रत्याभूति गर्नुपर्ने अडान जेलेन्स्कीले राख्दै आउनुभएको छ । तर अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भने युक्रेनलाई सुरक्षा प्रत्याभूति दिने जिम्मा यूरोपको भएको भन्दै जिम्मेवारीबाट पन्छिँदै आउनुभएको छ ।