काठमाडौं । युरोपेली देशको रक्षा खर्चमा वृद्धि र युक्रेनप्रतिको सहयोग र समर्थन जनाउन ईयूको आपत्कालीन शिखर सम्मेलन ब्रसेल्समा जारी छ । शिखर सम्मेलनमा ईयूका सबै २७ सदस्य राष्ट्रका नेताका साथै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी हुनुहुन्छ ।
सम्मेलनमा सहभागी हुन ब्रसेल्स पुगेपछि जेलेन्स्कीले अहिलेसम्म र खासगरी पछिल्लो साता युक्रेनप्रति देखाएको समर्थनका लागि युरोपेली नेतालाई धन्यवाद दिनुभएको छ । गत शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँगको तिक्ततापूर्ण वार्तापछि युरोपेली नेताहरूले जेलेन्स्कीको पक्षमा समर्थन जनाएका थिए । वासिङ्टनले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्का गरेपछि युरोपले अब कसरी किएभलाई सैन्य तथा अन्य सहयोग गर्न सक्छ भन्ने विषय र युरोपको रक्षाखर्च वृद्धिका बारे शिखर सम्मेलनमा छलफल हुने बताइएको छ ।
यसअघि बुधबार टेलिभिजन मार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले युरोप इतिहासकै नयाँ मोडमा प्रवेश गरिरहेको बताउनुभएको छ । साथै उहाँले रूसबाट हुन सक्ने भावी खतराको सामना गर्न युरोपेली साझेदारहरूलाई फ्रान्सेली परमाणु हतियारको संरक्षणभित्र राख्ने विषयमा छलफल गर्न आफू खुला रहेको बताउनुभएको छ ।
म्याक्रोँले आगामी साता युरोपेली देशका सेना प्रमुखसँग पेरिसमा बैठक गर्ने सोचमा रहेको जानकारी समेत दिनुभएको छ । म्याक्रोँले आफू देशको रक्षा खर्चमा बढोत्तरी गर्ने योजनामा रहेको तर करको दरमा वृद्धि भने नगरिने बताउनुभएको छ ।
उता रूसले गए राति युक्रेनमाथि गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । त्यसमध्ये चार जना राष्ट्रपति जेलेन्स्कीको गृहनगर क्रिभी रिहस्थित एउटा होटेलमा भएको क्षेप्यास्त्र आक्रमणमा मारिएका हुन् ।
यसैबीच रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभले युक्रेनमा ईयू शान्ति सेनाको उपस्थिति रूस विरुद्ध युरोपेली देशको प्रत्यक्ष युद्धका रूपमा लिइने चेतावनी दिनुभएको छ ।