काठमाडौं । अमेरिकासँग व्यापार युद्धको बढ्दो खतराका बावजुद चीनले यस वर्ष करिब ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सार्वजनिक गरेको छ । साथै उसले अर्थतन्त्रलाई गति दिन थप अर्बौं डलर लगानी गर्ने र घरेलु उपभोक्तामा देखिएको अपर्याप्त खर्चको समस्या समाधान गर्न कार्य गर्ने जनाएको छ ।
चिनियाँ संसद नेशनल पिपुल्स कंग्रेसको आजदेखि सुरू भएको वार्षिक सत्रको उद्घाटन समारोहमा प्रधानमन्त्री लि छ्याङले प्रस्तुत गर्नुभएको सरकारको कार्य प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको हो । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा सुरू भएको संसद्को बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री छ्याङले घरेलु मागलाई आर्थिक वृद्धिको मुख्य इन्जिन र आधार बनाउने दृढता व्यक्त गर्नुभयो । साथै उहाँले वैदेशिक व्यापार र लगानीलाई वर्ष २०२५ मा थप प्रवर्द्धनको प्रयास गरिने बताउनुभयो ।
चीनले पछिल्ला दुई वर्षमा पनि पाँच प्रतिशतकै आर्थिक वृद्धिको लक्ष्य राखेको र दरिलो निर्यातका कारण ती लक्ष्य प्राप्त गर्न सफल भएको जनाइएको छ । तर अमेरिकाले चिनियाँ उत्पादनमा लगाएको उच्च आयात कर र अन्य आर्थिक कठिनाइका कारण यस वर्षको लक्ष्य हासिल गर्न कठिन हुन सक्ने जनाइएको छ ।
मंगलबार मात्रै अमेरिकाले चीनबाट आयात हुने वस्तुमा थप १० प्रतिशत आयात कर लगाएको छ भने गत फेब्रुअरीमा लगाइएको १० प्रतिशत समेत जोडदा यो २० प्रतिशत हुन गएको छ । प्रतिउत्तरमा चीनले पनि यही मार्च १० देखि लागू हुने गरी अमेरिकाबाट आयात हुने कृषि तथा खाद्य उत्पादनमा १५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेको छ ।
अमेरिकाको राष्ट्रपति पदमा ट्रम्पको आगमनअघि नै चीनले घरेलु उपभोगमा कमी, घरजग्गा व्यवसायमा संकट र बेरोजगारीको समस्या झेल्दै आएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन् ।
यसैगरी सरकारले रक्षा खर्चमा ७.२ प्रतिशतले वृद्धि गरी यसलाई दुई खर्ब ४९ अर्ब डलर पुर्याउने घोषणा समेत गरेको चिनियाँ समाचार समिति सिन्हुवाले जनाएको छ । संसद्को आजदेखि सुरू भएको सत्रमा प्रस्तुत गरिएको बजेट मस्यौदा रिपोर्टमा उक्त कुरा उल्लेख गरिएको हो । चीनको रक्षा बजेट अमेरिकापछिको दोस्रो सबैभन्दा ठूलो रक्षा बजेट हो । वर्ष २०२५ का लागि अमेरिकाको प्रस्तावित रक्षा बजेट ८ खर्ब ५० अर्ब रहेको छ ।