काठमाडौं । युक्रेनसँग साझा गर्दै आएको खुफिया जानकारीमाथि पनि अमेरिकाले रोक लगाएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान रोकेको पुष्टि गर्नुभएको हो ।
सुरक्षा सल्लाहकार वाल्ट्जका अनुसार अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प प्रशासनले युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान रोकेको र यस विषयमा थप समीक्षा गरिने छ ।
युक्रेनको सम्पूर्ण खुफिया प्रणालीलाई हाल अमेरिकाले सम्हालेको हुनाले त्यसमाथि रोक लगाउनुले युक्रेनलाई रुसी हमलाको जानकारी भने प्राप्त नहुने आकलन भइरहेको छ । अमेरिकाले साझा गर्दै आएको खुफिया जानकारीसहित खुफिया सहयोग पनि रोकेको बताइएको छ ।
रुस युक्रेन युद्ध सुरु भएयतादेखि नै अमेरिकाले युक्रेनलाई खुफिया सहयोग र जानकारी दिँदै आएको थियो । ट्रम्पले प्रशासनले युक्रेनलाई दिदै आएको सैन्य सहायतालाई रोकेको केहि दिन पछि खुफिया जानकारी आदान प्रदान गर्नबाट रोक लगाएको हो ।
खुफिया जानकारी साझा गर्ने विषयमा लगाएको अमेरिकाले अंकुश अस्थायी हो वा स्थायी हो भन्ने विषय अझै अन्योल रहेपनि सुरक्षा सल्लाहकार वाल्ट्जले भविष्यमा उक्त रोक फुकुवा हुनसक्ने बताउनुभएको बीबीसीमा उल्लेख गरिएको छ ।
सीआइए निर्देशक जोन र्याटक्लीफले समेत उक्त विषयमा पुष्टि गर्दै युक्रेनी राष्ट्रपति युक्रने युद्ध विरामका लागि प्रतिबद्धता वा तयार भएको जानकारी प्रत्याभूत नगरेसम्म साझा गरिने खुफिया जानकारीमाथि रोक लगाइएको बताउनुभएको छ ।
यस्तै युक्रेन युद्ध सुरु भएयता अमेरिकाले युक्रेनलाई सबैभन्दा बढी सैन्य सहायता प्रदान गरेको थियो । थप खुफिया जानकारी आदान प्रदान रोकेको विषयमा युक्रेनलाई युद्ध मैदानमा यसको असर पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा टिप्पणी भइरहेको छ ।
फ्रान्सका राष्ट्रपति इमानूएल म्याक्रोंले समेत युक्रेन युद्धबारे अमेरिकाको सहायता विनै फ्रान्स तयार हुनु पर्ने जीकिर गर्नुभएको छ ।