अमेरिकाले रोक्यो युक्रेनलाई दिँदै आएको सैन्य सहायता

फाल्गुन २०, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकाले रोक्यो युक्रेनलाई दिँदै आएको सैन्य सहायता

काठमाडौं । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता तत्कालका लागि रोकेको छ । युक्रेनलाई दिँदै आएको सैन्य सहायता तत्कालका लागि रोकेको ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै ब्लूमबर्गले जनाएको छ । 

यसैगरी, ट्रम्पले रक्षा मन्त्री पीट हेगसेथलाई युक्रेन सैन्य सहायता रोक्न निर्देशन दिएको रोयटर्सले जनाएको छ ।

गत शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको तनावपूर्ण वार्तापछि ह्वाइट हाउसले यो निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ह्वाइट हाउसका अधिकारीका अनुसार युक्रेनलाई प्रदान गरिँदै आएको सैन्य सहायता रोकेर युद्ध समाधानमा उक्त सहायताले योगदान पुर्‍याइरहेको छ वा छैन भनेर सुनिश्चितता गर्न समीक्षा गरिनेछ ।

युक्रेनले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धताको प्रत्याभूत नगरेसम्म अमेरिकाले दिँदै आएको सबै सैन्य सहयोग रोकिने ब्लूमबर्गले लेखेको छ ।

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायताको स्थायी अन्त्य नभई तत्काललाई स्थगत मात्र गरेको ट्रम्प प्रशासनका एक अधिकारीलाई उद्धृत गर्दै फक्स न्यूजले उल्लेख गरेको छ । सैन्य सहायतालाई अमेरिकाले अप्रत्याशित रोक्नुको अर्थ युद्ध विरामका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई दबाब दिनु रहेको बताइएको छ ।

यस निर्णयमा अहिलेसम्म अमेरिकी रक्षा मन्त्रालय वा राष्ट्रपति डनल्ड ट्रम्पका तर्फबाट कुनै टिप्पणी आएको छैन ।

ब्लूमबर्गले युक्रेन नपुगेका अमेरिकी सैन्य उपकरण रोकिने उल्लेख गर्दै पोल्यान्ड पुगेका सामान पनि रोक्का रहने जनाएको छ । तर, युक्रेनमा रहेका अमेरिकी हात-हतियार भने तत्काल रोक्का नहुने बताइएको छ ।

रुस–युक्रेन युद्ध सुरु भएयता अमेरिका युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहायता दिने मुलुक हो । अमेरिकाले युक्रेनलाई अर्बौं डलरको सैन्य सहायता प्रदान गरिसकेको छ ।

जेलेन्स्कीले शान्ति स्थापना हुने शर्तमा आफू अमेरिकासँग दुर्लभ खनिज सम्बन्धी सम्झौता गर्न तयार रहेको र नेटोको सदस्य बन्नका लागि आफू पदबाट पछि हट्ने प्रतिबद्धता समेत व्यक्त गरेको बीबीसीले जनाएको छ ।



Enter Kantipur TV HD
Advertisement