काठमाडौं । देशका ६ वटै महानगरपालिकाले सडक किनारा र फुटपाथमा गर्ने व्यवसायलाई निषेध गरेका छन् । अर्थात् महानगरपालिकाका सडक छेउ र फुटपाथमा जथाभावी सामान राखेर व्यवसाय गर्न पाइँदैन । त्यति हुँदाहुँदै पनि लुकिछिपी व्यवसाय गर्नेहरूलाई महानगर प्रहरीले कहिले धपाउने त कहिले सामान नै जफत गर्ने गरेको छ । महानगरपालिकाहरूले यसरी उठाएका सामान के गर्छन् त ?
साना व्यवसायीले व्यापार गर्ने खुला ठाउँको माग गर्दै आए पनि देशका ठूला शहरमा व्यवस्थापन गर्न महानगरपालिकाहरू चुकेका छन् । तर तिनै व्यापारीबाट जफत गरिने सामग्रीबाट महानगरहरूले लाखौं असुल गर्ने गरेका छन् ।
काठमाडौं महानगरपालिकामा फुटपाथ, सडकपेटी, साइकल तथा ठेलामा सामान राखेर व्यवसाय गर्न पाइँदैन । तर महानगर प्रहरीको आँखा छलेर सडक किनारामा व्यवसाय गर्नेहरू अझै भेटिन्छन् । यसरी व्यवसाय गर्नेलाई फेला पारेर महानगर प्रहरीले सामान नै जफत गर्ने गरेको छ । जफत गरिएका कुहिने सामग्री व्यवसायीलाई नै फिर्ता गर्ने महानगरले साइकल, ठेला, क्यारेट लगायतका सामान भने लिलाम गर्छ ।
जफत गरिएका सामान बेचेर काठमाडौं महानगरले गत आर्थिक वर्षमा ७५ लाख राजश्व संकलन गरेको छ ।
काठमाडौंसँगै जोडिएको ललितपुर महानगरले फुटपाथ व्यवसाय गर्न निश्चित ठाउँ र समय तोकेको छ । हरेक दिन बेलुका ५ बजेपछि ८ बजेसम्म लगनखेलदेखि मंगलबजारसम्मको ७९६ मिटर क्षेत्रमा ट्राफिक जाम नहुने गरी फुटपाथ व्यवसाय गर्न दिने ललितपुर महानगरले अन्य स्थानमा निषेध गरेको छ । निषेधित ठाउँ र समयमा फुटपाथ व्यवसाय गरे जरिवाना तिराउने गरेको छ । साइकलमा राखेर व्यवसाय गर्नेलाई १ हजार र ठेलामा व्यवसाय गर्नेलाई २ हजार जरिवाना तोकिएको छ ।
उता विराटनगर महानगरपालिकामा पनि सडक किनारा तथा पेटीमा सामान राखेर बिक्री गर्न पाइँदैन । निषेधित क्षेत्रमा व्यवसाय गरे सचेत गराउँदै जरिवाना गराएर सामान फिर्ता गर्ने विराटनगरले गत वर्ष २ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
अर्को महानगर वीरगन्जले फुटपाथ तथा सडकमा व्यवसाय गर्नेलाई सुरुमा सचेत गराउने र जरिवाना समेत तिराउने गरेको छ । तर एउटै व्यक्तिले पटकपटक गल्ती गरे सामान नै जफत गरिन्छ । गत वर्ष महानगरले जरिवानाबाट मात्रै झन्डै २० लाख राजश्व संकलन गरेको छ ।
पोखरा महानगरपालिकाले पनि नियमविपरीत फुटपाथमा व्यापार व्यवसाय गरेको पाइए जरिवाना तिराउने गरेको छ । जरिवाना नतिर्ने र सम्पर्कमा नआउनेहरूको सामान लिलाम गरेर चालु आर्थिक वर्षमै झन्डै ३ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरिएको पोखरा महानगरले जनाएको छ ।
भरतपुर महानगरपालिकाले साँझ ७ बजेपछि निश्चित स्थानमा फुटपाथ व्यवसाय गर्न दिन्छ । तोकिएका स्थानबाहेक व्यवसाय गर्नेहरूको सामान जफत गरेर महानगरले पछिल्लो ६ महिनामै ३ लाख ९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
महानगरपालिकाहरू शहरलाई सुन्दर, मर्यादित र व्यवस्थित बनाउन फुटपाथ व्यवसाय निषेध गरेका हुन् । तर साना व्यवसायीलाई व्यापार गर्ने वैकल्पिक स्थान भने दिन सकेका छैनन् ।